उद्योग मन्त्रालयको 'महत्त्वपूर्ण व्यावसायिक व्यक्ति' बाट यी हुन् सम्मानितहरू [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
716
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । मुलुकको अर्थतन्त्र र वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न विधाका उद्योगी तथा व्यवसायीलाई ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआईपी) बाट सम्मानित गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार एक कार्यक्रमकाबीच उद्योगी व्यवसायीलाई सम्मान गरेको हो ।
उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाइने बताए ।
मन्त्री भण्डारीले निजी क्षेत्रको योगदानलाई सम्मान गर्नु सरकारको दायित्व भएको उल्लेख गरे । उनले भने, “यो सम्मान केवल सम्मानका लागि होइन । हामी थप उदार भएर निजी क्षेत्रलाई प्रेरित र सम्मानित गर्न चाहन्छौँ ।”
मन्त्री भण्डारीले सो सम्मानले उद्योगी तथा व्यवसायीको मनोबल उच्च बनाउने र उनीहरूलाई निर्यात प्रवर्द्धनतर्फ थप सक्रिय बनाउने विश्वास व्यक्त गरे । “निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास सम्भव छैन”, उनले जोड दिँदै भने, “देशको समृद्धिका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ । त्यसैको दिशामा हामी अगाडि बढिरहेका छौँ ।”
तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच वस्तुहरु प्रत्येकबाट एकरएक जनालाई सम्मानित गरिएको छ । जसमा ऊनी गलैँचातर्फ थर्ड आई इन्टरनेशनल, तयारी पोशाकतर्फ नेपाल फेशन प्रालि, ऊनी फेल्टका सामानतर्फ नेशनल एक्सपोर्टस् प्रालि, छुर्पीतर्फ मनराम हिमालयन हेण्डीक्राफ्ट प्रालि र पश्मिना वस्तुतर्फ ट्राइकोट इष्डष्ट्रिज प्रालिलाई सम्मान गरिएको हो ।
भारत बढी निर्यात गर्ने उत्कृष्ट तीन वटा संस्थाका रुपमा डाबर नेपाल लिमिटेड पहिलो, आरती स्ट्रिप्स दोस्रो र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड तेस्रो बढी निर्यात गर्ने संस्थाका रुपमा सम्मानित गरिएको छ ।
चीनतर्फको निर्यातका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमङ्गल काठमाडौँलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो बढी निर्यातकर्ताका रुपमा सम्मानित गरिएको छ ।
नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ताका रुपमा गिफ्टल्याण्ड इन्टरप्राइजेज प्रालिलाई सम्मानित गरिएको छ ।
वाणिज्य नीति, २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमकितामा राखेका निर्यात सम्भवनायुक्त वस्तुमध्ये कृषि क्षेत्रतर्फ नेपाल एभरेष्ट कार्डामम प्रडक्सन, जडीबुटी क्षेत्रतर्फ एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स सम्मानित भएका छन् ।
निर्यात व्यापारमा कूल रकमका आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ताका रुपमा जनकपुर रिफाइनरिज, विप्रेषणतर्फ आइएमई लिमिटेड, पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीका रुपमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडलाई सम्मानित गरिएको छ ।
व्यवसायीका प्रतिनिधिमूलक संस्थालाई पनि सम्मान गरिएको छ । निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्यगरी आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याएकाले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलाई सम्मानित गरिएको हो ।
तेस्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९र८० र २०८०र८१ मा रु एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीका रुपमा त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड, द साङ्ग्रिला कार्पेट एन्ड ह्याण्डीक्राफ्ट इन्डस्ट्री प्रालि र एभरेस्ट फेसन रहेका छन् ।
व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत सङ्घतर्फ तेस्रो मुलुकमा आर्थिक वर्ष २०७९र८० र २०८०र८१ मा कूल रू पाँच अर्ब वा सोभन्दा बढी निर्यात गर्ने वस्तुगत सङ्घका अध्यक्षलाई मानार्थ सीआईपी दिइनेछ । जस्ता सङ्घसंस्थामा नेपाली छुर्पी व्यवसायी सङ्घ, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाली तयारी पोशाक उद्योग सङ्घ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घ रहेका छन् ।
अघिल्ला दुई आर्थिक वर्षमा रू १५ अर्ब वा सोभन्दा बढी निर्यात गर्ने महासङ्घका अध्यक्षलाई पनि मानार्थ सीआईपी प्रदान गरिएको छ । जसमा नेपाल हस्तकला महासङ्घ र निर्यात व्यवसायी महासङ्घ छन् ।
राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० अन्तर्गतको परिभाषा भित्र पर्ने र अघिल्लो दुई आर्थिक वर्षमा रु चार करोड वा सोभन्दा बढी वस्तु तथा सेवा निकासी गर्ने स्टार्टअपका रुपमा माइण्डफुल क्राप्ट प्रालिलाई सम्मान प्रदान गरिएको छ । रासस