arrow

मुस्ताङको कोरला सडक पहिरोका कारण अवरुद्ध, कालीगण्डकीको बहाव पनि बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
coridor-kaligandaki.jpg

मुस्ताङ। उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक खण्ड पहिरोका कारण अवरुद्ध बनेको छ। गत रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले दिएको जानकारीअनुसार, कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेको हो। सडक अवरुद्ध भएपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्।

लामाले माथिबाट ठूलाठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्नसक्ने बताए। सडक खुलाउनका लागि डोजरसहित आवश्यक जनशक्ति घटनास्थलतर्फ पठाइएको छ। तत्कालका लागि मोटरसाइकल र हलुका सवारीसाधन आवतजावत गर्न मिल्ने गरी पहिरो पन्छाउने काम भएको उनले जानकारी दिए।

यसैबीच, मुस्ताङमा गए रातिको वर्षासँगै कालीगण्डकी नदीको बहाव पनि उच्च भएको छ। जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बस्तीहरूलाई सतर्क रहन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ