मौद्रिक नीतिको प्रभाव: कुन बैंकको कति घट्यो ब्याजदर ?
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
639
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिको प्रत्यक्ष प्रभाव बैंकहरूको ब्याजदरमा देखिएको छ। राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमा (बैंक दर) लाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ भने तल्लो सीमा (निक्षेप सङ्कलन दर) लाई ३ प्रतिशतबाट २.७५ प्रतिशतमा घटाएको छ। नीतिगत दर पनि ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएपछि बजारमा मुद्रा आपूर्ति बढाउने राष्ट्र बैंकको नीतिका कारण वाणिज्य बैंकहरूले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदरमा ठूलो कटौती गरेका छन्।
कुन बैंकको ब्याजदर कति घट्यो?
अधिकांश बैंकहरूले असार महिनाको तुलनामा साउनका लागि मुद्दती निक्षेपको ब्याजदर उल्लेख्य रूपमा घटाएका छन्। प्रभु बैंकले सबैभन्दा धेरै कटौती गर्दै असारको ६.१० प्रतिशतलाई साउनमा ४.२५ प्रतिशत मा झारेको छ। यसैगरी, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, इन्भेस्टमेन्ट मेगा बैंक, र सिटिजन्स बैंकले पनि आफ्नो ब्याजदर घटाएका छन्। कृषि विकास बैंक र नेपाल बैंकले भने सामान्य कटौती गरेका छन्।
यद्यपि, केही बैंकहरूले ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र एनएमबी बैंकले असारको ब्याजदरलाई नै साउनमा पनि कायम राखेका छन्। अनौठो रूपमा, स्टान्डर्ड चार्टर्ड बैंकले आफ्नो मुद्दती निक्षेप ब्याजदर सामान्य बढाएर ६.२६ प्रतिशत पुर्याएको छ भने हिमालयन बैंकले ५.५० प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ।
बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदर धमाधम घटाउन थालेपछि सर्वसाधारणमा ठूलो चिन्ता र अन्योल बढेको छ। ब्याजदर घटेसँगै आम बचतकर्ताहरूले बैंकमा पैसा राख्न हिचकिचाउने र कतिपयले आफ्नो पुँजीलाई अन्यत्र लगानी गर्ने वा पलायन गराउने जोखिम बढेको विज्ञहरूले बताएका छन्। बैंकहरूले यसरी भारी रूपमा ब्याजदर कटौती गरेको यो पहिलो पटक हो। राष्ट्र बैंकले नै ब्याजदर घटाउने नीति ल्याएकाले आगामी दिनमा अझै ब्याजदर घट्न सक्ने संकेत देखिएको छ।