arrow

खानेपानीमन्त्री यादवले एक वर्षमा के-के गरे ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
pradip-yadav-jasapa-ministe.jpg

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको करिब एक वर्ष पूरा भएको छ। गत वर्षको असार ३१ गते पदभार सम्हालेका उनले आफ्नो एक वर्षको कार्यकालमा खानेपानीका क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गरेका छन्।

मन्त्री यादवको प्रमुख दाबीमध्ये मेलम्चीको पानी काठमाडौँ उपत्यकामा बाह्रै महिना आपूर्ति गराउन सफल भएको छ। उनले गत वर्षको दसैँअगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने बाचा गरेको र सोहीअनुसार गत असोज २२ गतेदेखि सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौँ उपत्यकामा पानी आपूर्ति गर्न सफल भएको बताए। विगतका वर्षमा पुस र माघमा मात्र मेलम्चीको पानी आपूर्ति हुने गरेकामा आफूले कार्यभार सम्हालेपछि असोज २२ गते नै पानी ल्याउन सफल भएको उनको भनाइ छ। यसका लागि उनी आफैँ मेलम्ची पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीसँग छलफल गरेको र फलस्वरुप काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी आपूर्ति भएको अवस्था रहेको उनले बताए। हाल दैनिक छ करोड लिटरभन्दा बढी पानी काठमाडौँमा आपूर्ति भइरहेको उनको भनाइ छ।

खानेपानी मन्त्रालयको व्यवस्थापन सर्वेक्षण गरी खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत अस्थायी रूपमा सञ्चालित आयोजनालाई १५ वटा स्थायी कार्यालयका रूपमा स्थापना गरिएको छ। साथै, काठमाडौँ उपत्यकाको चक्रपथ बाहिर मेलम्चीको खानेपानी विस्तारका लागि पाँच वटा प्याकेजमा सार्वजनिक खरिद प्रक्रिया थालिएको उनले जानकारी दिए।

यसबीचमा नेपाल खानेपानी संस्थान कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी विनियमावली, २०८१ जारी गरी २०७४ यता रोकिएको पदपूर्ति प्रक्रिया पुनःसञ्चालनमा ल्याइएको छ।

मन्त्री यादवका अनुसार, अन्तर्राष्ट्रिय साझेदारी विस्तारअन्तर्गत भारत सरकारसँग खानेपानी तथा सरसफाइसम्बन्धी साझेदारीका लागि द्विपक्षीय सम्झौता गरिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग मूल व्यवस्थापन, प्रविधि हस्तान्तरण, अनुसन्धान, तथ्याङ्क आदानप्रदानलगायतका विषयमा समझदारी भएको उनको भनाइ छ।

मन्त्री यादवले केही समयअघि संयुक्त राष्ट्र सङ्घको आयोजनामा स्पेनको सेभियामा आयोजित राज्य प्रमुखको पहलमा पानी र सरसफाइ वित्तपोषण कार्यक्रममा सहभागिता जनाई नेपालको दीर्घकालीन वित्तीय प्रतिबद्धता प्रस्तुत गरेको उल्लेख गरे।

अन्तरमन्त्रालय तथा अन्तर सरकारी समन्वयअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग पानीको बहुपक्षीय उपयोगसम्बन्धी सम्झौता तथा प्रदेश सरकारसँग खानेपानी तथा सरसफाइ क्षेत्रमा लागत साझेदारीमा आधारित सम्झौता गरिएको मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिएकी छन्।

शाक्यका अनुसार झापा, वीरगञ्ज, पोखरा, भरतपुर, धरान, बुटवल, कैलालीलगायतका प्रमुख सहरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत खानेपानीका संरचना विस्तार कार्य अघि बढाइएको छ। पछिल्लो एक वर्षमा जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोप व्यवस्थापनअन्तर्गत बाढी/पहिरोबाट क्षति पुगेका खानेपानी आयोजनाहरू पुनःसञ्चालनमा ल्याइएका छन्।

जलवायु परिवर्तनका कारण बारा, पर्सालगायतका जिल्लामा खानेपानीको समस्या समाधान गर्न २५० भन्दा बढी स्थानमा डिप बोरिङ निर्माण गरिएको छ भने केही स्थानमा थप डिप बोरिङ निर्माण गरिएको छ।

वीरगञ्ज महानगरपालिकाको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा रु चार अर्ब ५० करोड लागतमा बृहत खानेपानी योजना कार्यान्वयनमा ल्याइएको छ। यसबाट तराई–मधेसमा बढ्दो जलसङ्कट तथा सुक्खापनको दीर्घकालीन व्यवस्थापनका लागि राप्ती खोला खानेपानी पथान्तरण आयोजनाको सम्भाव्यता अध्ययन अघि बढाइएको मन्त्री यादवले जानकारी दिए।

मन्त्री यादवको पहलमा तराई–मधेसलगायत क्षेत्रका दीगो र भरपर्दो खानेपानी सेवा सुनिश्चित गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको साझेदारीमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामार्फत तराईका सर्लाही, रौतहट, महोत्तरी, धनुषा, बारा र पर्सा गरी छ जिल्लामा खानेपानी आपूर्तिका लागि दीर्घकालीन पूर्वाधार विकासको कार्य अघि बढाइएको मन्त्रालयका सहसचिव तथा योजना महाशाखा प्रमुख ई. कमलप्रसाद श्रेष्ठले जानकारी दिए। उनले पछिल्ला एक वर्षमा खानेपानी मन्त्रालयले नीतिगत, कूटनीतिक र भौतिक पूर्वाधारका दृष्टिले महत्त्वपूर्ण फड्को मारेको र सेवा प्रवाहको सुदृढीकरणसँगै दीर्घकालीन तथा दिगो प्रणाली निर्माण भएको बताए।

काठमाडौँको सुन्दरीजलमा २५.५ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माणका लागि खरिद प्रक्रिया अघि बढाइएको छ भने सल्लाघारी, कोड्कु, धोबीघाटका ढल प्रशोधन केन्द्रको निर्माण पुनः सुरु भएको छ। कीर्तिपुर र महाँकालचौरमा क्रमशः ६० लाख र ८० लाख लिटर क्षमताका खानेपानी ट्याङ्की निर्माण गरिएका छन्।

साथै, खानेपानी तथा सरसफाइ नियमावली, २०८१ लागू, सहलगानी निर्देशिका अद्यावधिक, जनसहभागिता शुल्क ३० प्रतिशतबाट १५ प्रतिशत बनाइएको छ। मन्त्री यादवका अनुसार विभिन्न खानेपानी आयोजनाका लागि करिब रु १२ अर्बको बजेट सहमति प्राप्त गरी निर्माण अघि बढेको छ। "पछिल्लो एक वर्षमा बजेट फछ्र्यौट प्रक्रियालाई द्रुत गतिमा अघि बढाइएको छ, आर्थिक वर्ष २०८१/८२ मा खानेपानी तथा ढल व्यवस्थापन विभागको पुँजीगत खर्च ८६ प्रतिशत पुगेको छ," उनले भने।

मन्त्री यादवको सक्रियतामा पानी शुद्धीकरणको अभियानस्वरूप नयाँ आयोजना तथा खानेपानी उपभोक्ता संस्थामार्फत अनिवार्यरूपमा क्लोरिनेसन युनिट सञ्चालन गरिएको छ भने कर्णाली प्रदेशको भेरी पम्पिङ आयोजनाको ठेक्का सम्झौता, वनजग्गा स्वीकृति तथा रूख कटान अनुमतिपश्चात निर्माण सुरु भएको छ।

काठमाडौँ उपत्यकाको खानेपानी वृद्धिका लागि सिस्नेरी आयोजनाको विस्तृत अध्ययन सम्पन्न भई परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा देशभर ८६ वटा खानेपानी आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ।

खानेपानी आपूर्ति सुधारका लागि काठमाडौँ उपत्यकामा एक हजार सात सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले जनाएको छ। जसअनुसार स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्र सात सय किलोमिटर पाइप बिछ्याइएको छ।

यस्तै, देशभरका विभिन्न जिल्लामा २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सञ्चालनमा ल्याइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख ई. रामकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार ती परियोजनाहरू पुराना योजनाको मर्मतदेखि नयाँ निर्माणसम्म विभिन्न चरणमा छन्।

गत असोजमा आएको अविरल वर्षाका कारण प्रभावित मुलुकभरका पाँच सय २५ वटा खानेपानी आयोजना पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको मन्त्री यादवले बताए। यी सम्पूर्ण आयोजना तथा सुधारात्मक कार्यहरूबाट करिब १५ लाख नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास मन्त्रालयले लिएको छ।

सुन्दरीजलमा दैनिक साढे आठ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ। याङ्ग्री, लार्केलगायत विगतको बाढीका कारण क्षतिग्रस्त मेलम्चीको इन्टेक स्थान्तरणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनौट प्रक्रिया अघि बढेको छ।

पछिल्लो एक वर्षमा काठमाडौँ उपत्यका चक्रपथभन्दा बाहिर (कीर्तिपुर, पेप्सीकोला, मध्यपुर, थिमी, भक्तपुर र बौद्ध) क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाइएको छ। गत वर्षको बाढीले क्षति गरेको धोबीघाटमा रहेको तीन करोड ७० लाख लिटर क्षमताको फोहर पानी प्रशोधन केन्द्रको परीक्षणका लागि तयारी अवस्थामा रहेको मन्त्री यादवको भनाइ छ।

खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गरी हिमाली तथा पहाडी जिल्लामा सहज, सुलभ तथा स्वच्छ खानेपानी वितरणको सुनिश्चित हुने गरी काम सुरु भएको उनको भनाइ छ। पोखरामा खानेपानी सुधार आयोजनामार्फत ४८ हजार पाँच सय, विराटनगरमा ४५ हजार नौ सय ८७ र झापाको बेलडाँगीमा २३ हजार सात सय ४३ जनसङ्ख्यालाई स्वच्छ खानेपानी आपूर्ति गरिँदै छ। यस्तै, वीरगञ्जमा १४ वटा नयाँ खानेपानी आयोजनाहरूको निर्माण कार्य सुरु भइसकेको मन्त्री यादवको भनाइ छ।

यस अवधिमा जापानी सहयोग नियोग जाइकाको अनुदान सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण तथा परीक्षण सम्पन्न भएको मन्त्रालयको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ