दुवै सदनको बैठक बस्दै: अर्थ, यातायात, निजामती र जलस्रोत विधेयकमाथि छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
2.1k
Shares
काठमाडौँ। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा का बैठकहरू आज बस्दैछन्। दुवै सदनमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल र प्रस्तावहरू प्रस्तुत हुने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। यस बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ’वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ’राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यो विधेयकले नेपालको जलमार्ग सञ्चालन र व्यवस्थापनका लागि कानुनी आधार तयार पार्नेछ।
आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ’सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यक्रम पनि रहेको छ। यस प्रतिवेदनले सरकारी खर्च र वित्तीय व्यवस्थापनको अवस्थाबारे जानकारी दिनेछ। बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
यसैगरी, राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे बस्दैछ। यस बैठकमा पनि महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत हुनेछन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ’संघीय निजामती सेवा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यो विधेयकले निजामती सेवाको संरचना र कार्यप्रणालीमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ’जलस्रोत विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। यो विधेयक जलस्रोतको उचित व्यवस्थापन र उपयोगका लागि महत्त्वपूर्ण मानिएको छ।