बनियानी (झापा) । झापाको भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानी दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शंका लागेर जाँच गर्न खोज्दा अभियुक्तहरूले प्रहरीमाथि हातपात गरी भाग्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले छ राउन्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो। गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराई हिरासतमा राखिएको छ।
पक्राउ पर्नेहरूमा भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँ रहेका छन्। जिल्ला प्रहरी कार्यालयले अभियुक्तद्वयबाट २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ।