प्रतिमा सोध्छिन् – जापान जाने श्रमिक रोक्ने जानको काममा सरकार किन अन्जान
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
2.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले जापान जाने श्रमिकलाई रोकेर अनधिकृत भाषा परीक्षा दिन बाध्य पारेर अर्बौँ रुपैयाँ लुटिएको विषयलाई गम्भीरपूर्वक लिन आग्रह गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो अनधिकृत सिन्डिकेट तुरुन्त खारेज गर्नसमेत माग गरेकी छिन् ।
सम्माननीय सभामुखज्यू, म आज, जापानको भिसा (सीओई) पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिने घटनासँग जोडिएको सिन्डिकेट बारेमा ध्यानाकर्षण गराउन चाहन्छु।
जाइका अल्मुनाइ एसोसिएसन नेपाल (जान) नामक संस्थामार्फत विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेटको विभिन्न तथ्य मिडिया मार्फत उजागर भएको छ।
यो विषयमा पटक–पटक वैदेशिक रोजगार व्यवसायीहरू, उपभोक्ता अधिकारवादी र मिडियाका तर्फबाट सरकारको ध्यानाकर्षण गराइए पनि सुनुवाइ सुधार केही भएन। त्यसैले अहिले आएर अधिकारवादीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन। जहाँ कारण देखाउ आदेश जारी भइसकेको छ र असार १६ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाइएको छ।
हाम्रा युवा भिसा लिएर पनि विदेश जान पाएका छैनन्। ठूलो लगानी गरेर भाषा पास गरेका, सीओई पाएका, तर फेरि नेपालमै रोकिएर अनावश्यक परीक्षा दिन बाध्य ती युवाहरू अहिले हतास, निराश र आक्रोशित छन्। उनीहरूको आत्मबल कमजोर बनाइएको छ, भविष्यमाथि प्रश्न उठाइएको छ।
हजारौँ युवाको रोजगार सपनासँग जोडिएको यो विषयमा सरकार टुलटुल हेरेर चुप रहन मिल्दैन ।
त्यसैले म यस सभामार्फत सरकारसँग
यो अनधिकृत सिन्डिकेट तुरुन्त खारेज गर्न,
यसमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न,
र वैदेशिक रोजगार प्रक्रिया पारदर्शी, प्रभावकारी र युवामैत्री बनाउन माग गर्दछु।