arrow

टेक्सासमा विनाशकारी बाढी: २७ जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
flood-texas-usa-25-7-5.jpg

काठमाडौँ। अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीले २७ जनालाई बेपत्ता बनाएको छ। उद्धारकर्मीहरूले शनिबार बेपत्ता भएका दुई दर्जनभन्दा बढी व्यक्तिको खोजी कार्य जारी राखेका छन्।

केर काउन्टीका शेरिफ ल्यारी लेइथाले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा भने, “अहिले हामीले करिब २७ जनाको मृत शरीरलाई बाढीको पानी र हिलोभन्दा बाहिर ल्याइसकेका छौं।" टेक्सासका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले यसअघि मृत्यु हुनेमा केही बालबालिका रहेको बताएका थिए।

शनिबार राष्ट्रिय मौसम सेवा (NWS) ले सान एन्टोनियोको उत्तरपश्चिममा रहेको यस क्षेत्रमा अझै भारी वर्षा र ‘विनाशकारी’ बाढी आउन सक्ने चेतावनी दिएको छ। NWS ले एक चेतावनीमा भनेको छ, “एक्कासी परेको निकै ठूलो पानीका कारण नदीहरूमा बाढी आइसकेको छ भने मौसम अझै खराब रहेकोले थप बाढी आउनसक्ने पूर्वानुमान गरिएको छ।” NWS ले बासिन्दाहरूलाई उनीहरूको जीवनको सुरक्षाका लागि छिटो उच्च भूमिमा सर्ने कार्य गर्न आह्वान गरेको छ।

केरभिलमा सामान्यतया शान्त बग्ने ग्वाडालुप नदी शनिबार तीव्र गतिमा बगिरहेको देखिन्थ्यो भने यसको धमिलो पानीमा बाढीको हिलो सहित बगिरहेको देखिन्थ्यो। स्थानीय बासिन्दा ६१ वर्षीय गेरार्डो मार्टिनेजले भने, “बाढी यसरी आयो, मानौं एक वर्षमा जति वर्षा हुन्छ, त्यो सबै एकै दिनमा खनियो।” उनले पानी रूखको टुप्पोसम्म पुगेको र नदीमा पानी लगभग १० मिटर वा सोभन्दा बढी भरिएको, कार र सबै घरहरू नदीभन्दा तल देखिएको बताउँदै अवस्था निकै खराब भएको उल्लेख गरे।

शुक्रबार करिब ५०० सुरक्षाकर्मी र १४ वटा हेलिकप्टरले उद्धार कार्यमा सहयोग गरेका थिए। टेक्सासका सैन्य अधिकारी मेजर जनरल थोमस सुएल्जरले पत्रकारलाई आपतकालीन कर्मचारीले कम्तीमा २३७ जनालाई उद्धार गरेको र १६७ जनालाई हेलिकप्टरको प्रयोग गरेर उद्धार गरिएको जानकारी दिए।

शुक्रबार साँझ काउन्टी शेरिफले केर काउन्टीमा रहेको ‘क्याम्प मिस्टिक क्रिश्चियन’ नामक ग्रीष्मकालीन मनोरञ्जन शिविर (समर क्याम्प) का करिब २७ जना बालबालिका हराइरहेको बताएका थिए। लेफ्टिनेन्ट गभर्नर प्याट्रिकले हराएका बालबालिकाको सङ्ख्या दुई दर्जन हुनसक्ने बताएका थिए। शनिबार अमेरिकी सञ्चारमाध्यमले हराएकामध्ये दुई बालिकाको मृत्यु भएको परिवारलाई उद्धृत गर्दै जानकारी गराएका थिए।

क्याम्प मिस्टिकबाट करिब एक माइल टाढा रहेको ‘द हार्ट ओ ’द हिल्स’ समर क्याम्पले शनिबार यसका निर्देशक जेन रग्सडेल पनि मृतकमध्येको एक भएको पुष्टि गरेको छ। ग्वाडालुप नदीको किनारमा रहेको महिलाका लागि बनेको ग्रीष्मकालीन शिविर क्याम्प मिस्टिकमा करिब ७५० बालबालिका थिए। नदीको माथिल्लो क्षेत्रमा रातभरको भारी वर्षासँगै ४५ मिनेटमा नदीको पानी २६ फिट (आठ मिटर) माथि पुगेको थियो।

प्याट्रिकले भने, “बेपत्ता सबै हराएका नहुन पनि सक्छन्। रूखमा चढेर उद्धारको प्रतीक्षामा हुन सक्छन् वा उनीहरू सम्पर्कबाहिर रहेका तर सुरक्षित पनि हुन सक्छन्।” टेक्सासका गभर्नर ग्रेग एबोटले यस क्षेत्रका काउन्टीहरूका लागि स्रोतहरू बढाउन विपद्को घोषणामा हस्ताक्षर गरेका छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सहयोगको प्रतिबद्धता दिएका छन्। उपराष्ट्रपति जेडी भान्सले शनिबार उक्त विपत्तिलाई ‘नबुझिने खालको त्रासदी’ को संज्ञा दिएका छन्।

टेक्सास राज्यको सार्वजनिक सुरक्षा विभागका निर्देशक फ्रिम्यान मार्टिनले लगातारको भारी वर्षाका कारण उद्धारकर्ताका लागि अवस्था चुनौतीपूर्ण बनेको बताए। मार्टिनले यस विपत्तिलाई ‘सामूहिक हताहतको घटना’ भनेका छन्। राज्य र स्थानीय अधिकारीहरूले नदीको किनारमा अवस्थित क्याम्प मैदानहरूसहित दर्जनौं सडक क्षेत्रमा यात्रा गर्ने बासिन्दाहरूलाई चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा १२ इन्चसम्मको भारी वर्षाका कारण आएको बाढीले घर र रूखहरू बगाएको देखाइएको छ, जुन केर काउन्टीको औसत वार्षिक वर्षाको एक तिहाइ हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ