मौरी सकिए ७५ प्रतिशतसम्म फलफूल–तरकारी उत्पादनमा कमी
मौरीपालन गर्नुभन्दा तीन गुणा सस्तोमा चिनी मिसाएको आयातीत मह ठीक भन्ने मानसिकता
बद्रीप्रकाश ओझा,
प्रकाशित २०८२ असार २१ शनिबार
1k
Shares
क्रमशः
एक दिनको कुरो हो, कृषिका एक जना सहसचिवले अर्थ मन्त्रालयमा मौरीपालन प्रवद्र्धनका लागि बजेट माग गरेर पठाएछन् ।
अर्थका कर्मचारीले यसो दिमाग खियाए । भारतबाट डाबर हनि एक सय ६०–६५ रुपैयाँ प्रतिकेजीमा आउँछ ।
नेपालमा सरदर महको उत्पादन लागत करिब चार सयकै हाराहारीमा पर्छ । त्यसो भए किन नेपालमा मह उत्पादन गराउने । सिधै भारतबाट ल्यायो, केही भन्सार रकम पनि जम्मा हुन्छ । उपभोक्ताले पनि सस्तोमा खान पाउँछन् ।
आयातित महमा अधिकांश चिनीकै मात्रा हुने विज्ञहरु बताउँछन् । सस्तो भएकै कारण रेस्टुरेन्टहरुले पनि आयातित मह नै प्रयोग गर्छन् ।
एकदिन हट लेमन विथ हनि खाने क्रममा मेरै छिमेकको रेस्टुरेन्टमा मैले महको भाँडो हेर्न मागेँ । उही आयातित ।
मैले नेपाली मह प्रयोग गर मात्र के भनेको थिएँ, रेस्टुरेन्टका मालिकले तुरुन्तै जवाफ दिए – नेपाली मह हालेर हट लेमन बनाउने हो भने गिलासको तीन सय लिनुपर्ने हुन्छ । नेपाली महको दाम आयातितका तुलनामा तीन गुणा बढी छ ।
यो वास्तविकता पनि हो । भूगोलका हिसाबले नेपाल भन्दा भारत २२ गुणा ठूलो छ । जनसंख्याका हिसाबले करिब ४८ गुणा ठूलो छ । बजेट विनियोजनका हिसाबले भारतको बजेट नेपालका तुलनामा २६ गुणा बढी छ ।
बाइस गुणा ठूलो मुलुकले २६ गुणा बढी बजेट खर्च गर्दा ४८ गुणा बढी जनसंख्यालाई ख्वाएर पनि खाद्यवस्तु बेच्छ । भारतले वर्षमा ५० अर्ब डलरको कृषि उपज बेच्छ भने नेपालले मात्र डेढ अर्बको बेच्छ । नेपालका तुलनामा भारतको कृषि उपज निर्यात करिव ३० गुणा बढी छ ।
भारतीय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान १५ प्रतिशत मात्र छ भने नेपालमा २४ प्रतिशत छ । यसबाट पनि नेपाल कृषिमा बढी नै आधारित रहेको देखिन्छ । यसैगरी भारतमा कूल जनसंख्याको ४३ प्रतिशत हिस्सा कृषि क्षेत्रमा रोजगार छ भने नेपालमा ६२ प्रतिशत छ ।
भारतले कृषि क्षेत्रबाट बर्सेनि तीन सय अर्ब डलर भन्दा बढी आर्जन गर्छ भने नेपालले करिब आठ अर्ब डलर गर्छ । यसरी तुलना गर्दा पनि भारतले नेपालभन्दा ३५ गुणा बढी कमाइ गर्छ ।
अब लगानीको तुलना गरौँ
यस वर्षको नेपालको कृषि बजेट ४४ करोड डलरको छ जुन कूल बजेट १४ अर्ब डलरको ३.२ प्रतिशत हो । यो बजेट कूल गार्हस्थ उत्पादनको १.५ प्रतिशत हो ।
भारतको हेरौँ । चालु आर्थिक वर्षमा भारतको कृषि क्षेत्रको कुल बजेट ५३ अर्ब डलर छ । यसमध्ये १६ अर्ब संघीय सरकार र ३७ अर्ब राज्य सरकारले विनियोजन गरेका छन् ।
बिना लगानी कहाँबाट उत्पादन बढ्छ त ?
नेपालको समस्या नै लगानी हो । त्यसमा पनि कृषि क्षेत्रमा लगानी हो । सामान्यतया कृषि क्षेत्रमा आठदेखि १० प्रतिशत बजेट लगाउन सके एक दशकमा नेपालको कृषिले फड्को मार्छ । बजार बढ्दै जाँदा अरबको गर्मीमा मेहनत गर्ने भाइहरु स्वदेशमै काम गर्न रुचाउँछन् ।
अब फेरि महमै फर्कौं ।
भारतले मह उत्पादनका लागि ठूलो लगानी गरेको छ । सन् २०२१ यता भारतले मह मिसनका लागि वार्षिक ५८ मिलियन डलर खर्च गर्दैआएको छ ।
यसबाट उसको मह उत्पादनमा एक सय १० प्रतिशतले वृद्धि भयो । हाल भारतले वर्षमा १० लाख टन मह निर्यात गर्छ ।
नेपालमा त्यस्तै पाँच हजार टन जति मह उत्पादन भएको तथ्यांक छ । बर्सेनि नेपालको मह विदेश जानेक्रम घट्दो छ । नेपालले सन् २०२१ मा १६ टन मह निर्यात गरेर करिब २२ करोड डलर कमाएकोे थियो ।
त्यसको एक वर्षपछि स्वात्तै घटेर तीन टनमा सीमित भई १६ लाख डलरमा झर्यो । सन् २०२३ मा महको निर्यात त बढ्यो तर कमाइ भएन ।
त्यस वर्षमात्र १० हजार डलर कमाइ भयो । यसको मुख्य कारण मह किन्नेहरु छिमेकीमात्र भए । पहिले जस्तो अमेरिका, अस्ट्रेलिया, जापान जस्ता धनी मुलुकमा मह गएन ।
नेपाल लगायतका हिमाली मुलुकमा उत्पादन हुने भीरमौरीको मह विश्वमा लोकप्रिय छ । यस्तो मह अझ गुराँस फुल्ने मौसममा उत्पादन हुने म्याड हनि अथवा रेड हनि अझ महँगोमा जान्छ । त्यसको बजार केजीको ३० देखि एक सय ५० डलरसम्ममा जान्छ ।
यी दुवै किसिमका महको नेपालमा प्रचुर सम्भावना छ ।
यसमा शून्य लगानी छ ।
किसानले ज्यान माया मारेर भीरमा झण्डिएर र मौरी सबै सखाप पारेर भीरमौरीको मह काढ्छन् । यसमा राज्यले एक पल पनि हेर्न सकेको छैन । सुधारको त कुरै छोडौं । कमसेकम ती मौरी नाश नहुने गरी मह काढ्ने सीपमात्र सिकाए हुने हो ।
कसलाई फुर्सद र ? मौरी सकिए सकिउन् ।
व्यावसायिक किटका हाकिमहरुलाई तलब लिने बेलामा हात काप्नुपर्ने हो ।
यतिका धेरै संरक्षणवादी संस्थाहरु छन् ।
वन मन्त्रालय एक्लै जंगलको राजाका रुपमा विकासको अवरोध बनेर बसेको छ ।
खोई त भीरमौरीको संरक्षण ?
सबै लाचार छन् ।
मात्र १० करोड लगानी गरेर एउटा गतिलो प्रयोगशाला खोलिदिए किसानले जम्मा गरेको महले भाउ पाउँथ्यो । अहिले ३० डलरमा बिक्री हुँदै आएको महले सय डलर पाउँदा देशलाई पनि नाफा नै होला ।
यसबारे सोच्ने कसलाई फुर्सद र ? सन् २०२२ मा जस्तै २२ करोड डलर भित्रिने थियो । पच्चीस अर्ब कमाइ हुने विषयमा १० करोड खर्च गर्न सकिँदैन ?
वाक्क भएर माथि उल्लेखित सहसचिवले कड्किएर भनेछन्, ‘त्यसो भए परागसेचन गर्ने कामदार पनि भारतबाटै ल्याउनु ।’
अर्थका कर्मचारी चुप लागे ।
यहाँनिर प्राविधिक ज्ञानको महत्व झल्किन्छ । प्राविधिक ज्ञानकै कमीले नेपालमा विकास नभएको हो ।
कर्मचारीतन्त्रमा प्रशासन सेवाको हावीका कारण प्राविधिकहरु बेखुशी छन् । मिले प्रशासनकै कर्मचारी बाटो नाप्न र मान्छेको शल्यक्रिया गर्न लाग्थे होला । यति चाहिँं गरिहालेका छैनन् ।
यदाकदा स्वास्थ्य चौकीहरुमा कार्यालय सहयोगीले उपचार गरेका खबर भने आउँछन् । अझ कृषि क्षेत्रलाई त प्रशासनले खर्लप्प पारेकै छ । त्यसमा पनि अर्थ प्रशासनले त माटैमा मिलाइदिएको छ ।
फैरि मौरीमै फर्कौं ।
मौरीले महमात्र दिँदैन, यसले हरेक बोटविरुवामा भाले र पोथी परागबीच सम्पर्क कायम गरिदिन्छ ।
विश्वमा मौरीले फलफूल तथा तरकारी बालीमा ९० प्रतिशत परागसेचन गर्दछ भन्ने अध्ययनहरुको निष्कर्ष छ । यदि मौरी सकिने हो भने परागसेचन घट्छ र विश्वमा तरकारी तथा फलफूल उत्पादन ५० देखि ७५ प्रतिशतले कमी आउने अध्ययनहरुले देखाएका छन् ।
त्यसैले सकेसम्म विषको प्रयोग नगरौँ भनिएको हो । व्यावसायिक अन्नबाली खेती गरिएको क्षेत्रमा मौरी नचराऔँ । फलफूल खेतीमा भरसक विष नहालौं । हाल्नु त पर्ला नै तर मिलेसम्म नरम र जैविक विष प्रयोग गरौँ ।
यति मात्र चेतना जगाइदिए वर्षको १२ खर्ब निलेर बसेका नेता तथा कर्मचारी अलि लामै समय बाँच्लान् नत्र उनीहरुको कमाइ पनि दराजमै थन्किने छ ।
धान मकै प्रजातिका अन्नमा मौरीको भूमिका खासै रहँदैन तर काँक्रा, फर्सी लगायतका तरकारी बाली र सबै फलफूलमा मौरी नै परागसेचनको माध्यम हो । त्यसैले विदेशमा कफी, स्याउ, बेरी आदि फलका बगैंचामा मौरी भाडामा ल्याएर राख्ने प्रचलन छ । क्रमशः.......(लेखक ओझा किसानहरूको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)