अमेरिकी रोजगारी दरमा अपेक्षाभन्दा बढी वृद्धि, तर कर वृद्धिको चिन्ता कायमै
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
1.5k
Shares
वासिङ्टन डीसी। अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने विश्वव्यापी अनुमानबीच जुन महिनामा अमेरिकी रोजगारी दरमा अपेक्षा गरिएभन्दा बढी रोजगारी थपिएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ।
श्रम विभागका अनुसार, मे महिनामा करिब १ लाख ४४ हजारको हाराहारीमा रहेको रोजगारी दर गत महिना १ लाख ४७ हजारमा कायम भएको छ। यसैगरी, बेरोजगारी दर ४.२ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ भने तलब वृद्धि ०.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
कोभिड–१९ को महामारीपछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले तुलनात्मक रूपमा राम्रो वृद्धि हासिल गरेको छ। लचिलो रोजगारी बजारले उपभोक्ताहरूलाई खर्च गरिरहन अनुमति दिएको छ, जसले आर्थिक गतिविधिलाई सन्तुलित राखेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टिल, आल्मुनियम र कारको आयातमा चर्को कर वृद्धिसहित अमेरिकी व्यापारिक साझेदारहरूमाथि लगाएको करले उपभोक्ताको भावनालाई प्रभावित गरेको छ र व्यापार अनिश्चिततालाई बढावा दिएको छ।
विशेष गरी अमेरिकी राष्ट्रपतिको करवृद्धिको घोषणा गर्ने, त्यसपछि समायोजन गर्ने वा उपायहरू रोक्ने दृष्टिकोणले गर्दा फर्महरू लगानीमा सतर्क भएका छन्। सम्भवतः अर्को हप्तादेखि लागू हुने कर वृद्धिको अर्को शृङ्खलालाई मध्यनजर गर्दै विश्लेषकहरूले रोजगार बजारमा कमजोरीको सम्भावनाबारे निगरानी गरिरहेका छन्। यसले फर्म तथा कम्पनीहरूलाई थप भर्ती र रोजगारीका अवसर विस्तारबाट पछि हट्न सक्ने सङ्केत देखाएको छ।