काठमाडौँ। युरोपेली सङ्घ (ईयू) का विदेश मामिला प्रमुख काजा कल्लासले ब्रसेल्समा हुने नेताहरूको शिखर सम्मेलनअघि चिनियाँ शीर्ष कूटनीतिज्ञसँगको वार्तापछि युरोपको सुरक्षालाई कमजोर पार्ने कुनै पनि कार्य नगर्न बेइजिङसँग आग्रह गरेका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटअघि कल्लासले चीन युरोपको विरोधी नभए पनि सुरक्षाका सवालमा दुई पक्षबीचको सम्बन्ध तनावपूर्ण रहेको बताए। उनले युक्रेनविरुद्धको युद्धलाई निरन्तरता दिन चिनियाँ कम्पनीहरू मस्कोका लागि 'लाइफलाइन' बनेको आरोप लगाए। साथै, बेइजिङले साइबर आक्रमण गर्ने, युरोपको लोकतन्त्रमा हस्तक्षेप गर्ने र अनुचित व्यापार गर्ने जस्ता कार्यहरूले युरोपेली सुरक्षा र रोजगारीलाई हानि पुर्याएको कल्लासको भनाइ थियो।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र युरोपेली सङ्घका शीर्ष अधिकारीबीच बेइजिङमा हुन लागेको शिखर वार्ताको तीन हप्ताअघि वाङ ब्रसेल्स पुगेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'कर युद्ध' सुरु गरेर प्रमुख व्यापारिक शक्तिहरूलाई दबाब दिइरहेका बेला ईयूले चीनसँग सम्बन्ध सुधारको ढोका खोलेको थियो। तर, सम्बन्ध सुधारको सट्टा ब्रसेल्स र बेइजिङबीच चीनको कथित अनुचित व्यापारिक अभ्यासलाई लिएर विवाद झनै चर्केको छ। २७ राष्ट्रहरूको समूहले अझै पनि चीनमार्फत रूसको सेनामा महत्त्वपूर्ण प्रविधिको प्रवाह भइरहेको भनी विरोध गरिरहेको छ।
कल्लासले युरोपसँग घनिष्ठ सम्बन्ध कायम गर्न खोज्दा युरोपमा युद्धलाई सहयोग गर्नु विरोधाभासपूर्ण भएको र यसलाई बेइजिङले सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनले अस्थिर विश्वमा बेइजिङले आफ्नो बढ्दो शक्तिलाई अन्तर्राष्ट्रिय कानुनको पालनाका लागि प्रयोग गर्नुपर्ने बताए।
बेइजिङलाई दबाब दिने प्रयासस्वरूप युरोपेली सङ्घले मस्कोको युद्ध प्रयासमा सहयोग गरेको आरोप लागेका चिनियाँ कम्पनीहरूसँगको व्यापारमा प्रतिबन्ध लगाएको छ। यद्यपि, ईयूका अधिकारीहरू बेइजिङलाई मस्कोसँगको महत्त्वपूर्ण रणनीतिक साझेदारीबाट हटाउन असफल भएको स्वीकार्छन्।