नेतृत्व परिवर्तन: विकासको मेरुदण्ड कि लेनदेनको व्यापार ?
डा सुरजराज काफ्ले,
प्रकाशित २०८२ असार १४ शनिबार
2.6k
Shares
आजको विश्व परिवर्तन र प्रतिस्पर्धाको युग हो । सूचना प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको विस्तार र जनचेतनाको वृद्धिले नागरिकलाई पहिलेभन्दा धेरै सचेत बनाएको छ । यस्तो परिवेशमा नेतृत्वप्रति जनताको अपेक्षा पनि बदलिएको छ । विशेषगरी नेपालजस्तो संक्रमणकालीन लोकतन्त्रमा नेतृत्व प्रतिको अपेक्षा क्षण भरमै परिवर्तन हुने प्रकृतिको छ ।
वास्तविकता के हो भने नेतृत्वप्रति जनताको विश्वास क्रमशः घट्दै गएको छ । यसको मूल कारण नेतृत्वमा परिवर्तनकारी दृष्टिकोणको अभाव र लेनदेन संस्कृतिको गहिरो प्रभाव हो ।
नेतृत्व के हो ? नेतृत्व केवल सत्ताको कुर्सी सम्हाल्ने वा आदेश दिने जिम्मेवारीमात्र होइन । यो त जनताको सपना बुझ्ने, उनीहरूलाई सही दिशा प्रदान गर्ने र सामूहिक परिवर्तनको आधार बन्ने कला र क्षमता हो । परिवर्तनकारी नेतृत्वले जनताको चेतनामा आत्मविश्वास जगाउँछ, लक्ष्य प्राप्तिको मार्गचित्र कोर्छ र सहकार्यको माध्यमबाट समाजको रूपान्तरण सम्भव बनाउँछ ।
जब नेतृत्व "तिमी मलाई समर्थन गर, म तिमीलाई सुविधा दिन्छु" भन्ने लेनदेनको संस्कृतिमा सीमित हुन्छ तब त्यो नेतृत्व विकृत ब्यापार बन् छ। यस्तो प्रवृत्ति विश्वका धेरै मुलुकमा देखिएको छ र नेपाल पनि यसबाट अछुतो छैन ।
लेनदेन नेतृत्वले तत्कालीन लाभ दिन सक्ला, ब्यापार फस्टाउला तर दीर्घकालीन विकास र सामाजिक परिवर्तनमा यो बाधक बन्छ । यसले यथास्थिति लाई जोगाउने र तत्कालीन स्वार्थमा केन्द्रित हुने प्रवृत्ति लाई मलजल गर्दछ । यस्तो नेतृत्वमा दीर्घकालीन दृष्टिकोण, आत्मालोचना र नयापनको अभाव हुन्छ। नेताहरूले अनुयायीलाई प्रेरणा दिनुको सट्टा सुविधा र अवसर बाँडेर नियन्त्रणमा राख्न खोज्छन् जुन ब्यापारिक चरित्र हो । यस्तो नेतृत्वले समाजमा परिवर्तनको सट्टा भ्रष्टाचार, असमानता र जन आक्रोश निम्त्याउँछ ।
फिलिपिन्सको उदाहरण लिऔँ । पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोस (१९६५-१९८६) को शासनकाल लेनदेन नेतृत्वको ज्वलन्त उदाहरण मान्न सकिन्छ । मार्कोसले आफ्नो सत्ता टिकाउन शक्तिको चरम दुरुपयोग गरे । उनले आफ्ना समर्थकहरूलाई सत्ता र सम्पत्तिको बाँडफाँड गरेर नियन्त्रणमा राखे तर जनताको हितलाई बेवास्ता गरे ।
उनको शासनमा भ्रष्टाचार र आर्थिक असमानता चरमोत्कर्षमा पुग्यो। अन्ततः १९८६ मा जनताले ‘पिपुल पावर रिभोलुसन’ मार्फत उनलाई सत्ताबाट हटाए। यो आन्दोलनले जनताको परिवर्तनकारी नेतृत्व प्रतिको चाहना र लेनदेनको ब्यापारी संस्कृतिको अन्त्य गरिदियो ।
नेपालको सन्दर्भमा हेर्दै गर्दा राजनीतिक दलहरूले सत्ताको खेलमा कुर्सी बाँडफाँट, मन्त्री पदको लोभ र आर्थिक लाभलाई प्राथमिकता दिने ब्यापारिक मनोवृत्तिको जग बसाले । सत्ताको लेनदेनले नीतिगत स्थिरता र विकासमा बाधा पुग्न गई दीर्घकालीन विकासका मुद्दाहरू जस्तै शिक्षा, स्वास्थ्य र पूर्वाधार, पछाडि पर्न गएका छन् ।
तसर्थ विकासको मूल फुटाउन परिवर्तनकारी नेतृत्व आवश्यकता छ जसले केवल विकासका लक्ष्यहरु मात्र देखाउँदैन, त्यसलाई प्राप्त गर्ने स्पष्ट मार्गचित्र पनि सँगसँगै प्रस्तुत गर्दै जान्छ ।
यस्तो नेतृत्वले जनतामा "हामी सक्छौँ" भन्ने भावना जागृत गर्छ र सामूहिक सहभागिताको संस्कृतिलाई प्रोत्साहन दिन्छ । परिवर्तनकारी नेताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको हितमा काम गर्छ ।
उदाहरणका लागि क्षमाशील नेतृत्वको प्रतीक दक्षिण अफ्रिकाका नेल्सन मण्डेला जो परिवर्तनकारी नेतृत्वको विश्वव्यापी उदाहरण हुन् । उनले रंगभेद नीतिविरुद्ध लामो संघर्ष गरे र २७ वर्ष जेलमा बिताए ।
सत्तामा पुगेपछि वैरभावको सट्टा मेलमिलापको नीति अपनाए । जसको नेतृत्वले दक्षिण अफ्रिकालाई गृहयुद्धको खतराबाट बचायो र राष्ट्रिय एकताको आधार तयार गर्यो । मण्डेलाले भनेका थिए, "नेता भनेको मालिक होइन, सेवक हो ।" उनको यो दृष्टिकोणले जनतामा आत्मसम्मान र एकताको भावना जागृत गर्यो ।
यस्तै गरी न्यूजिल्यान्डकी पूर्वप्रधानमन्त्री जेसिन्डा आर्डर्नले कोभिड-१९ को महामारीका बेला परिवर्तनकारी नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी थिइन् । वैज्ञानिक सल्लाहलाई आधार बनाएर लिइएको उनको कठोर निर्णयहरुले न्यूजिल्यान्डलाई महामारीको प्रभावबाट धेरै कम क्षति बेहोर्न सफल बनायो । उनको नेतृत्वले देखायो कि कठिन समयमा पनि साहस, पारदर्शिता र जनता प्रतिको समर्पणले ठूलो परिवर्तन सम्भव छ ।
नेपालको सन्दर्भमा फर्केर हेर्दा दीर्घकालीन दृष्टिकोणको कमीले गर्दा वा भनौँ परिवर्तनकारी नेतृत्वको अभाव हुन सक्छ लोकतन्त्रको जग बलियो बनाउने अभ्यासहरु हुँदै गर्दा पनि सँगसँगै लेनदेनको ब्यापारिक संस्कृति झाँगिने क्रम जारी रहनाले ब्यवस्था परिवर्तन भए पनि अवस्थामा सुधार आउन सकेन ।
मूल रुपमा भन्नु पर्दा ब्यवहार त समावेशी र दीर्घकालीन विकासका लागि स्पष्ट योजना प्रस्तुत गर्न नसक्नु र लेनदेनलाई नै राजनीतिक ब्यापारको जग बसाल्नु दुर्भाग्यपूर्ण कुरा हो ।
नेपालमा नेतृत्वका प्रमुख चुनौतीहरू भनेको यथास्थितिलाई जोगाउने पुरानाहरुको संरक्षण गरिरहने नयाँ पुस्तालाई अवसरबाट वञ्चित गरिहाल्ने, यहाँ युवाहरूको जनसंख्या ठूलो भए पनि उनीहरूको क्षमता र विचारलाई राष्ट्रिय स्तरमा प्राथमिकतामा नराख्ने, नेताहरूमा पार्टीभन्दा माथि उठेर राष्ट्र हितमा सोच्ने संस्कारमै नभएको, नैतिकता र जवाफदेहिता पटक्कै नदेखिएको, भ्रष्टाचारका काण्डै- काण्डहरू, जस्तै वाइडबडी विमान खरिद प्रकरण र ललिता निवास काण्ड, आदि जुन भनेर साध्य छैन ।
यी त भए नेतृत्वको नैतिक संकटका उदाहरण जुन लेनदेन र ब्यापारसँग गाँसिन्छ। यसो भन्दै गर्दा हुनु पर्ने चैँ विकासका मेरुदण्डका रुपमा परिवर्तनकारी नेतृत्व हैन ? जसमा दृष्टिकोणमा स्पष्टता जसले स्पष्ट योजना र लक्ष्य प्रस्तुत गर्न सक्छन् ।
उदाहरणका लागि सिंगापुरका लि क्वान युगले सिंगापुरलाई सानो टापुबाट आर्थिक महाशक्ति बनाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरे । नेता प्रेरणाको स्रोत हुनु आवश्यक छ कि छैन ? परिवर्तनकारी नेताले आफ्नो आचरण र कार्यबाट अनुयायीलाई प्रेरणा दिन् छ। नेपालमा बीपी कोइरालाले आफ्नो लेखन र विचारबाट लाखौं नेपालीलाई प्रजातन्त्रका लागि प्रेरित गरे ।
यस्तै नेतृत्वले निर्णय प्रक्रियामा सामूहिक सहभागिताको खाँचो ब्यवहारत लागु गर्नुपर्छ कि पर्दैन ? जनतासँग नियमित संवाद गर्ने गुण कहिले विकास हुने हो ?
परिवर्तनकारी नेतृत्वले साहस र जोखिम मोल्न डराउँदैन । उदाहरणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०१६ मा नोट-बन्दीको जोखिमपूर्ण निर्णय लिए, जसले दीर्घकालीन रुपमा ठूलो प्रभाव पार्यो ।
यसैगरी विकासवादी नेतृत्वले उच्च नैतिक व्यवहार देखाएर आफूलाई उदाहरणको रूपमा प्रस्तुत गर्नु पर्छ। नेपालमा नेतृत्व परिवर्तनको कुरा गर्दा केवल अनुहारको फेरबदलले पुग्दैन, सोच र संस्कृतिको परिवर्तन आवश्यक छ । यसका लागि युवा नेतृत्व अपरिहार्य छ । इमानुएल माक्रोँ ३९ वर्षको उमेरमा फ्रान्सको राष्ट्रपति बने । जसले पुराना राजनीतिक संरचनालाई तोडेर नयाँ सोच र नीति प्रस्तुत गरे । उनको नेतृत्वले युरोपेली राजनीतिमा नयाँ तरंग ल्यायो । नेपालमा पनि यस्तै जोश, दूर दृष्टि र नैतिक साहस भएको युवा नेतृत्वको खाँचो छ ।
जसमा आलोचनात्मक सोच, नेतृत्व कौशल र सामाजिक उत्तरदायित्व स्कूल स्तरदेखि नै सिकेर आएको होस् र अरुलाई पनि सिकाउने प्रेरणा दियोस् । यस्तैगरी राजनीतिक पारदर्शिता अर्को महत्वपूर्ण पक्ष छ । दलहरूमा आन्तरिक लोकतन्त्र सुनिश्चित नभएसम्म परिवर्तनकारी नेता निस्कन सक्दैनन् । नेपालमा दलहरूले युवा र महिलालाई नेतृत्वमा ल्याउन नीतिगत सुधार गर्नुपर्छ ।
सचेत र संगठित नागरिकले नागरिक दबाब मार्फत नेतृत्वलाई जवाफदेही बनाउन सक्छ । नेपालमा सामाजिक सञ्जालमार्फत युवाहरूले विभिन्न मुद्दामा दबाब सिर्जना गर्न थालेका छन् । जस्तै वातावरण संरक्षण र भ्रष्टाचार विरुद्धका अभियान । यी र यस्ता गतिविधिहरु मार्फत नेतृत्व परिवर्तन गरी विकासका मेरुदण्ड बन्ने र घरानियाँ लेनदेनका ब्यापारीहरुलाई सत्ताच्युत गर्दै लोकतान्त्रिक नेपालको जग बसाल्नु आजको आवश्यकता हो ।
अन्त्यमा जो जिम्मेवारी लिन्छ, आलोचना सहन्छ, संवाद गर्छ र आदर्श प्रस्तुत गर्छ। जब नेतृत्व विकासको मिसनमा केन्द्रित हुन्छ, तब मात्र देशले गति लिन्छ। अन्यथा नेतृत्व कुर्सीको खेलमा सीमित भएर जनताको सपना अधुरै रहनेछ ।