चितवनको टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
637
Shares
चितवन। पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा शुक्रबार बिहान एउटा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेहरूमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारत, बिहारका ४५ वर्षीय जगदेव यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशाबाट जाँदै गरेको बाप्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक ठोक्किएका हुन्।
घाइते प्रजाको चितवन मेडिकल कलेजमा र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।