arrow

संसदको अवरोध हटाउन सरकारको आग्रह: रास्वपा र राप्रपालाई 'हठ त्याग्न' आह्वान

रास्वपा र राप्रपाको अडान 'सोह्रै आना गलत'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
prithivi-subba-12-19.jpg

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसद अवरोध गरिरहेका प्रतिपक्षी दलहरूलाई हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्न आग्रह गरेका छन्। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

मन्त्री गुरुङले संसदको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले संसदीय व्यवस्थाप्रति विश्वास देखाइरहँदा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने 'मेरो गोरुको बाह्रै टक्का' भनेझैँ हठ गरिरहेको जिकिर गरे। रास्वपा र राप्रपाको कदम 'सोह्रै आना गलत' रहेको उनको भनाइ छ।

गुरुङले समस्याको समाधान गर्नबाट भागेर मुलुकलाई अड्काउन नहुने पनि बताए। उनले छानबिन समिति स्वीकार गरेर समितिले निर्वाध रूपमा काम गरोस् भन्नेतर्फ प्रतिपक्षी दलहरूले सचेत गराउन र खबरदारी गर्नुपर्ने बताए।

उनले भने, "प्रतिपक्षी दलले जे खालको सहयोग गरेको छ, त्यो आफैँमा यो संसदीय व्यवस्थाप्रतिको उहाँहरूको विश्वास रहेको स्पष्ट हुन्छ। संसद समस्या समाधानको थलो रहेको कुराको पुनःपुष्टि गरेको छ। त्यो पनि बुझ्नुपर्छ। अरु प्रतिपक्षी दलहरू जसरी 'मेरो गोरुको बाह्रै टक्का' भन्नुभएको छ, यो सोह्रै आना गलत छ। समस्याको समाधान गर्नबाट भागेर मुलुकलाई यसरी अड्काउन हुँदैन यस्तो विषयमा।"

सरकारले हालै पूर्वमुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ। तर, रास्वपा र राप्रपाले उक्त समितिमा असहमति जनाउँदै संसद अवरोध गरिरहेका छन्।

मन्त्री गुरुङले मन्त्रालयको कुनै कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्न थाल्दा मन्त्रीले राजीनामा दिँदै जाने कुरा नहुने र यो व्यक्तिसँग जोडिएको विषय नभएको बताए। उनले सरकारले कुनै हठ नगरेको भन्दै संसद बहिष्कार गरिरहेका प्रतिपक्षी दलहरूलाई सरकारको प्रस्ताव स्वीकार गरेर जान आग्रह गरे। "अब बरु समितिले निर्वाध भएर काम गर्न पाओस्। भोलि यस्ता समस्या नआऊन् भनेर राम्रो सुझाव देओस् भनेर लाग्नुपर्छ," उनले थपे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ