अन्नपूर्ण प्रथम आधार शिविरमा पर्यटकको बढ्यो सङ्ख्या
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
629
Shares
बेनी (म्याग्दी)। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। पदमार्गमा होटल सुविधा र समग्र व्यवस्थापनमा सुधार आएपछि पर्यटकीय आवागमन बढेको हो।
सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा पहिलो पटक सफल आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमाल आरोहणको इतिहासमा जेठो हिमालका रूपमा चिनिन्छ। आरोहण भएको ७५ वर्षसम्म पनि यसको आधार शिविर जाने पदमार्गको पर्याप्त प्रचारप्रसार नहुँदा नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान सुरु गरिएको थियो।
अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले यस पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि अभियान चलाइरहेका छन्। पदमार्गका अभियन्ता तथा पर्यटन व्यवसायी तेज गुरुङका अनुसार, पदमार्ग, आश्रयस्थल, चिया पसल (टिसप) र होटललगायतका पूर्वाधार निर्माण र प्रचारप्रसारपछि पर्यटकको आगमन बढेको हो।
गुरुङका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए। यस वर्ष पर्यटक आउने क्रम बढ्दो छ। विगतमा हेलिकोप्टरबाट आधार शिविर पुग्ने आरोहीहरू पनि यस वर्ष पदमार्ग हुँदै पुगेका छन्। हालै आधार शिविरमा मनाइएको अन्नपूर्ण हीरक महोत्सवले पनि यस क्षेत्रको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको गुरुङको भनाइ छ।
हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल तथा फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएपछि पर्यटकका लागि निकै सहज भएको छ। यहाँका होटलहरूमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बस्न मिल्ने अस्थायी प्रकृतिका बासस्थान बनेका छन्, जसले गर्दा आन्तरिक पर्यटकको आगमन बढेको छ। यो याममा करिब छ हजार आन्तरिक पर्यटक आएको गुरुङले जानकारी दिए।
सन्धीखर्कमा होटल सञ्चालन गर्दै आएका माइकल परियारका अनुसार, विगतमा खाना र बस्नका लागि आफैँले सामान बोकेर हिँड्नुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको छ।
पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ भने हुमखोलाबाट १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ। "हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ," परियारले भने।
पदमार्गको प्रवेशविन्दु नारच्याङ गाउँमा होमस्टेको सुविधा छ भने त्यहाँबाट माथि प्रत्येक दुई-दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या समाधान भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गरिरहेका अजित सेञ्चुरीले बताए। उनले पर्यटकको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटल सञ्चालन गरिएको उल्लेख गरे।
स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार, पूर्वाधार निर्माण र सुविधा विस्तारले अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने अभियान सार्थक बन्दै गएको छ। हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्डताल, दर्जनौँ झरना र रमणीय हिमाली भूबनोट यस पदमार्गका मुख्य आकर्षण हुन्।
पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण र होटलसहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको स्थानीयवासीको भनाइ छ।