न्यायाधीश नियुक्ति : आरोप प्रमाणित गर्न कानूनमन्त्री चौरसियाको सांसद सिंहलाई चुनौती
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
964
Shares
काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री चौरसियाले सांसद सिंहको आरोप निराधार रहेको बताए।
सांसद सिंहले यसअघि मन्त्री चौरसियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको र आफूसँग त्यसको प्रमाण रहेको भन्दै कल विवरण सार्वजनिक गर्न माग गरेका थिए। तर, मन्त्री चौरसियाले बाहिर आएजस्तो दलीय प्रभाव पर्ने गरी न्यायाधीश नियुक्ति नगरिएको दाबी गरे।
"संविधान र कानूनभन्दा बाहिर गएर न्यायाधीश नियुक्ति भएको छैन र माननीय सदस्यज्यूले भनेजस्तो पार्टीको सिण्डिकेट तथा दलीय प्रभाव गर्ने गरी न्यायाधीश नियुक्ति गरिएको छैन," मन्त्री चौरसियाले भने।
मन्त्री चौरसियाले सांसद सिंहले आफूमाथि लगाएको व्यक्तिगत आरोपको पनि खण्डन गरे। उनले आफ्नो राजनीतिक जीवन नैतिकता र चरित्रमा आधारित रहेको दाबी गर्दै आफूलाई 'खहरे खोलाजस्तो अनुशासनहीन' वा 'उडिरहेको चंगाबाट चुँडिएपछि रूप र घरमा खसेजस्तो व्यक्तित्व' नभएको बताए।
उनले सांसद सिंहलाई आफ्नो विरुद्धमा कुनै प्रमाण भए पेस गर्न चुनौती दिए। साथै, उनले न्यायिक परामर्श कानून, न्याय तथा संसदीय मामिलामन्त्री र मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन भनी सांसद सिंहलाई प्रश्न पनि गरे। न्यायाधीश नियुक्तिमा कुनै सिण्डिकेट वा दलीय प्रभाव नपरेको समेत उनले स्पष्ट पारेका छन्।