चितवन निकुञ्जमा चोरीसिकारी नियन्त्रणका लागि ‘स्पाई क्यामेरा’ जडान, गस्ती तीव्र
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
477
Shares
चितवन। चितवन राष्ट्रिय निकुञ्जले मनसुन सुरु भएसँगै सम्भावित चोरीसिकारी नियन्त्रणका लागि निकुञ्जका संवेदनशील क्षेत्रमा ‘स्पाई क्यामेरा’ जडान गरेको छ। मनसुनमा मानवीय उपस्थितिमा सुरक्षा दिन कठिन हुने भएकाले यो प्रविधि प्रयोग गरिएको हो।
निकुञ्जका सूचना अधिकारी अबिनस थापामगरका अनुसार, संवेदनशील स्थानमा ३० वटा स्पाई क्यामेरा गोप्य रूपमा जडान गरिएको छ। यी क्यामेराले मानिसको आवतजावतको तस्बिर खिचेर राख्नेछन्, जसले चोरीसिकारी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। क्यामेरा जडानसँगै हात्तीद्वारा गरिने गस्ती पनि बढाइएको छ।
निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको नियमित टोलीबाहेक विभिन्न गणका ९० जना सेनाको थप टोली पनि अहिले यहाँ सुरक्षामा खटिएको छ। निकुञ्जका कर्मचारी र नियमित सुरक्षार्थ खटिएका टोलीको पहुँच नपुगेका ठाउँमा यी थप टोली परिचालन गरिएको थापामगरले बताए। यो टोली तीन महिनासम्म वन्यजन्तु संरक्षणका लागि काम गर्नेछ।
मनसुन सक्रिय भएसँगै निकुञ्ज क्षेत्र आसपासका बासिन्दा खेतीपातीमा व्यस्त हुने भएकाले यो समयमा चोरीसिकारी बढ्ने जोखिम बढी हुन्छ। चोरीसिकार नियन्त्रण अभियान पनि यस अवधिमा कम हुने हुँदा वर्षात्को समयमा संरक्षणमा चुनौती थपिने गर्छ। त्यसैले, प्रविधि र जनशक्ति दुवैको प्रयोग गरेर सुरक्षा व्यवस्था कडा पारिएको निकुञ्जले जनाएको छ।