रौतहट । रौतहटको गढीमाई नगरपालिकाले आफ्नो १२ औं नगरसभाबाट करिब ५५ करोड रुपैयाँको बजेट ल्याएको छ । पालिकाको सभा कक्षमा शनिबार आयोजित नगर अधिवेशनमा नगर प्रमुख श्यामप्रसाद यादवले नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गर्दै सो आकारको बजेट पारित भएको छ ।
पालिकाको आगामी आर्थिक वर्षको पुँजीगत बजेट १९ करोड १५ लाख ४९ हजार र चालुतर्फ ३५ करोड ७६ लाख २३ हजार १०८ रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाको आन्तरिक आयतर्फ २ करोड, आन्तरिक राजस्व बाँडफाँट २ करोड, संघीय सरकारको समानीकरण अनुदानतर्फ ११ करोड २१ लाख रहेको छ ।
त्यस्तै संघीय सरकारको सशर्त अनुदानतर्फ २५ करोड ५७ लाख, संघीय सरकारको राजस्व बाँडफाँटतर्फ १० करोड ८७ लाख ६५ हजार १०८, मधेश प्रदेश सरकारको समानीकरण अनुदानतर्फ ७७ लाख ४९ हजार, मधेश प्रदेश सरकारको विशेष अनुदानतर्फ ३० लाख, मधेश प्रदेश सरकारको समपूरक अनुदानतर्फ २० लाख, मधेश प्रदेश सरकारको राजस्व बाँडफाँटतर्फ ६३ लाख ५८ हजार, मधेस प्रदेश सरकारको सशर्त अनुदानतर्फ ९५ लाख, सडक बोर्ड नेपालबाट ४० लाख रुपैयाँ बजेटको स्रोत रहेको नगर प्रमुख यादवले नगरसभा मार्फत सार्वजनिक गरेका छ्न् ।
पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारका साथै धार्मिक र सांस्कृतिक पर्यटनलाई समेत बजेट मार्फत मुख्य प्राथमिकतामा राखेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले जानकारी दिए ।
नगरको समग्र विकासका लागि नगरप्रमुख देखि सबै कार्यपालिका सदस्यहरु एकजुट रहेको बताउँदै प्रमुख यादबले गढिमाईको विकासका लागि अन्यत्रबाट समेत बजेट ल्याएर समुन्नत नगर बनाउने पालिकाको अभियान रहेको बताए ।