काठमाडौँ । काठमाडौँ उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा निर्माण गरिएको 'फ्लाई ओभर' ले बल्ल पूर्णता पाएको छ। पटकपटक म्याद सरेर सम्पन्न भएको यो बहुप्रतिक्षित फ्लाई ओभरको आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन गर्दै छन्। यसको निर्माणसँगै ग्वार्को चोकमा ट्राफिक जामको समस्याबाट सर्वसाधारणले राहत पाउने अपेक्षा गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले २०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो। यसअनुसार, २०८० फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो।
तर, तोकिएको समयमा काम सम्पन्न नभएपछि २०८१ असार र पुनः २०८१ पुस ८ गतेसम्मका लागि म्याद थप गरिएको थियो। केन्द्रका प्रवक्ता प्रदीप भण्डारीका अनुसार, ठेकेदार कम्पनीले पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब १ करोड ४७ लाख रुपैयाँ हर्जना तिराएर काम सम्पन्न गराइएको छ।
निर्माणमा ढिलाइ हुनुका कारणहरू प्राविधिक जटिलता र अपरिहार्य प्राविधिक परिमार्जन रहेको भण्डारीले बताए। प्रारम्भिक डिजाइनअनुसार काम सुरु गरे पनि निर्माण व्यवसायीले पेस गरेको डिजाइनमा आवश्यक परिवर्तन गर्नुपरेको र त्यसका लागि थप अध्ययन तथा स्वीकृति प्रक्रियाले समय लिएको उनले स्पष्ट पारे। यस्तै, यान्त्रिक रूपमा स्थिर माटोको पर्खाल जडान गर्दा जमिनमुनिको माटोमा सुधार गर्नुपर्ने देखिएको र अप्रोच सडक निर्माणका क्रममा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनि थप समय लागेको थियो।
भण्डारीका अनुसार, ग्वार्को फ्लाई ओभरको कुल र्याम्प र पुलको लम्बाइ ५७६.२ मिटर छ। ग्वार्को चोकबाट लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो ओभरपास रहेको छ। दुवैतर्फ चार तहको कालोपत्रे गरिनुका साथै ओभरपासको र्याम्पको दूरी १०.२ मिटर छ। बीचको पुल खण्डको लम्बाइ ३६.२ मिटर रहेको छ। यस पुलको चौडाइ १६.४ मिटर छ, जसमा चार लेन सडक सञ्चालन हुनेगरी डिजाइन गरिएको छ।
तोकिएको समयमा काम सम्पन्न नहुँदा सुरुको सम्झौताभन्दा १४ करोड रुपैयाँ लागत थप भएको छ। करिब १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएकोमा, काम सम्पन्न भइसक्दा अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० रुपैयाँ पुगेको छ। यो 'डिजाइन, इञ्जिनियरिङ, खरिद तथा निर्माणकार्य' (इपिसी प्रणाली) मा आधारित ठेक्का सम्झौता हो, जसमा डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ। निर्माणपश्चात् पाँच वर्षसम्म निर्माण कार्यमा र १० वर्षसम्म डिजाइनमा कुनै त्रुटि देखिएमा सुधार गर्ने पूर्ण जिम्मेवारी पनि निर्माण व्यवसायीकै हुनेछ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले ग्वार्को फ्लाई ओभर निर्माणले ट्राफिक जाम व्यवस्थापनमा सहजता ल्याउने बताएका छन्। "ग्वार्को चोकमा देखिएको ट्राफिक जामको समस्या अबदेखि हट्ने भयो," उनले भने, "ग्वार्कोमा अबदेखि जाम नहुने र छिटोछिटो सवारीसाधन आवतजावत गर्न सक्छन्।" यद्यपि, उनले सातदोबाटो चोकमा एकैपटक सवारी चाप बढ्न सक्ने सम्भावना औँल्याउँदै भविष्यमा अझै बढ्न सक्ने ट्राफिक जाम व्यवस्थापनका लागि उपत्यकालगायतका अन्य सहरका मुख्य चोकमा पनि यस्ता ओभरपास र अन्डरपासको योजना बनाउन आवश्यक रहेको सुझाव दिए।
पूर्वाधारविद् तथा नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष इञ्जिनियर गजेन्द्रप्रसाद थपलियाले पनि ग्वार्को फ्लाई ओभर निर्माणले पूर्वाधार विकासको सकारात्मक पक्षलाई झल्काएको बताए। उनले कोटेश्वर, बानेश्वर, थापाथली, माइतीघर, चाबहिल, सातदोबाटो लगायतका क्षेत्रमा पनि अन्डरपास र ओभरपासको योजना छिट्टै तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ग्वार्को ओभरपासको उद्घाटनको पूर्वसन्ध्यामा गत बुधबार स्थलगत अवलोकन गरेको थियो। समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले निरीक्षणका क्रममा अधिकांश कार्य सम्पन्न भए पनि बत्ती जडान, सुरक्षाका लागि सिसीटिभी क्यामेरा जडानलगायतका केही साना तर महत्त्वपूर्ण कामहरू बाँकी रहेको बताए। उनले मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशक लगायतका पदाधिकारीहरूलाई आवश्यक निर्देशन दिन छलफल गरिएको जानकारी दिए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभर निर्माणलाई चालु आर्थिक वर्षभित्रै सम्पन्न गराउन निरन्तर अग्रसरता देखाउँदै आएका थिए। काठमाडौँको सहरी तथा यातायात व्यवस्थापनमा महत्त्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणकार्यलाई गति दिएर समयमा नै सक्नुपर्ने भन्दै उनले ताकेता गर्दै आएका थिए। आगामी आव २०८२/८३ मा टोखा–छहरे–गुर्जु–भन्ज्याङ सुरूङमार्ग, हेम्जा–नयाँपुल खण्ड सडक सुरूङमार्ग, नयाँबानेश्वर अन्डरपास, सिद्धबाबा सुरूङमार्ग, खुर्कोट–चियाबारी सुरूङमार्ग, फुस्रेखोला छोरेपाटन (पोखरा)बाट स्याङ्ग्जा गुडीकोला टनेल अध्ययन, शिवपुरी–भालुवाङ सुरूङमार्ग, रानीघाट–भुरीगाउँ सुरूङमार्गलगायत विकासका योजनाहरू छनोट भएका छन्। यी परियोजनाहरूले भविष्यमा ट्राफिक समस्याको व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ।