एसियाली राजमार्गको काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
533
Shares
बेलबारी (मोरङ)। सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने महत्त्वाकाङ्क्षी परियोजना ‘एसियन हाइवे’ अन्तर्गतको काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र गर्ने काम शुरु भएको छ। यसले पूर्वी नेपालको सडक पूर्वाधारमा महत्त्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ।
आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिका अनुसार मङ्गलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो। निर्माण सम्झौता भएको १५ महिनामा हालसम्म करिब २३ प्रतिशत काम सम्पन्न भएको छ। एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५.७६ किलोमिटर मा मात्र काम भइरहेको छ। यो कामलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर अघि बढाइएको छ।
चालु आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ। आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा पनि २१ प्रतिशत काम सम्पन्न भइसकेको छ र यस खण्डमा पनि चालु आवमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ। पूर्वी खण्डमा ५० वटा र पश्चिममा ७० वटा कल्भर्ट निर्माण भइसकेका छन्।
यो राजमार्ग बजार क्षेत्रमा ५० मिटर, जङ्गलमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा हुनेछ। एसियाली विकास बैंकको ऋण सहयोगमा २०८० साल माघ १९ गतेदेखि यस राजमार्गको निर्माण शुरु भएको हो। यस परियोजनाले नेपाललाई एसियाली सडक सञ्जालमा जोड्न थप मद्दत पुग्ने विश्वास लिइएको छ।