काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले मंगलबार उनलाई तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुन आदेश दिएसँगै उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
मंगलबार अदालतमा उपस्थित भएपछि शुरू भएको थुनछेक बहसपछि उनी तीन लाख धरौंटीमा रिहा भएका हुन् । न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले उक्त आदेश दिएको हो ।
सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दाबाट रिहाइ भएपछि सम्पर्कविहीन भएका मिश्र मंगलबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिए ।
यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआएपछि खोजी शुरू भएपछि सोमबार अदालतमा उपस्थित भएका थिए ।
उनी पनि तीन लाख नै धरौटी तिरेर सोमबारै रिहा भइसकेका छन् ।
गत चैत १५ गते तीनकुनेको हिंसा भड्काउन मद्धत गरेको आरोपमा मिश्र र राणा पक्राउ परेका थिए ।
तीनकुने घटनामा दुई जनामो मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । हिंसात्मक गतिविधि गर्नेहरुले संचारमाध्यमसँगै निजी घरसमेत तोडफोड गरेका थिए ।
गाडी जलाएका थिए । पसलमा लुटपाट गरेका थिए भने जडिबुटी प्रशोधन केन्द्र जलाएका थिए ।