म्याग्दी। म्याग्दीको रत्नेचौर–भकुण्डे सडक ट्रयाक खुलेको २७ वर्षपछि अन्ततः कालोपत्रे गर्न थालिएको छ। बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हुँदै तमाने जोड्ने यो १० किलोमिटर सडकको विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार, र सबबेस तथा बेस बिछ्याउने काम सकिएपछि कालोपत्रे शुरु भएको हो।
सडक डिभिजन कार्यालय बागलुङमार्फत 'एक निर्वाचन क्षेत्र, एक सडक' आयोजनाअन्तर्गत रत्नेचौर–भकुण्डे सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा ४ किलोमिटर कालोपत्रे गर्न थालिएको कार्यालय प्रमुख हरि सुवेदीले जानकारी दिएका छन्।
सडकको १ किलोमिटर २ सय मिटर खण्डमा ढलान भइसकेको छ। ९ मिटर फराकिलो बनाइएको यो सडकमा ७ मिटर चौडाइका दरले डिएबिएसडी प्रविधि को कालोपत्रे गरिने कार्यालय प्रमुख सुवेदीले बताए।
विसं २०५६ मा ट्रयाक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन्। यस आयोजना निर्माणका लागि २०७९ भदौ ६ गते निर्माण कम्पनीले २३ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
सडक डिभिजनका अनुसार, हाल यस योजनाको ७५ प्रतिशत भौतिक प्रगति र ५९ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। यो सडक कालोपत्रे भएपछि रत्नेचौरबाट भकुण्डेसम्मको १ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए।
चालु आर्थिक वर्षमा विनियोजन भएको ४ करोड रुपैयाँ बजेट खर्च भइसकेको छ भने आगामी वर्षका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न आर्थिक वर्ष २०७७/७८ मा ४०–४० करोड रुपैयाँ विनियोजन गरेको थियो।