विश्व रक्तदान दिवसमा मानव धर्मद्वारा २२१ पिन्ट रगत सङ्कलन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३१ शनिबार
925
Shares
काठमाडौँ । विश्व रक्तदान दिवस (जुन १४) को अवसरमा नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा दुई सय २१ जनाले रक्तदान गरेका छन्। देशका विभिन्न चार स्थानमा आयोजित कार्यक्रमबाट उक्त परिमाणको रगत सङ्कलन भएको हो।
सङ्कलित रगतमध्ये दाङबाट ८० पिन्ट, काठमाडौँबाट ६१ पिन्ट, उदयपुरबाट ६१ पिन्ट र सुर्खेतबाट १९ पिन्ट रहेको छ।
विज्ञानले सबै कुराको आविष्कार गरे पनि रगतको आविष्कार गर्न नसकेको र रगतको माग पूरा गर्ने एकमात्र विकल्प रक्तदान नै भएकाले यस कार्यक्रमको आयोजना गरिएको नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख चमेली वाईजीले बताइन्। उनले भनिन्, "दानमध्येको सबैभन्दा ठूलो दान रक्तदान नै हो।"
आध्यात्मिक तथा सामाजिक संस्थाको रूपमा विश्वसामु परिचित यस संस्थाले विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ। जुन १४ लाई विश्व रक्तदान दिवसका रूपमा मनाइँदै आएको छ।