मुग्लिन-पोखरा सडक विस्तार: पश्चिम खण्डमा ५३ प्रतिशत प्रगति, पूर्वी खण्ड अन्तिम चरणमा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
603
Shares
दमौली (तनहुँ) । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम सम्पन्न भएको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधाभन्दा बढी काम सकिएको मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।
योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार, २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किलोमिटर खण्डमा एकतर्फी कालोपत्रे (अस्फाल्ट) सकिएको छ। पश्चिम खण्डतर्फ थप ३ किलोमिटर एकतर्फी कालोपत्रे गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म यो काम सक्ने लक्ष्य राखिएको छ।
यस खण्डमा १२ वटा पुलमध्ये १० वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने १०० वटा कल्भर्टमध्ये ९२ वटा कल्भर्टको निर्माण सकिएको छ। यद्यपि, ४२४ वटा विद्युत् पोल हटाउन बाँकी रहँदा काममा केही ढिलाइ भएको कुँवरले बताए। तालचोकदेखि आदर्शचोकसम्म र डाँडाको नाकदेखि विजयपुरसम्मका पोलहरू हटाउन ढिलाइ हुँदा समस्या आएको उनको भनाइ छ। ती पोलहरू एक साताभित्र हटाइने प्रतिबद्धता आएकाले असार मसान्तसम्म कोत्रेदेखि सेतीपुलसम्मको चार लेन काम सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ।
विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ। यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा पाएको थियो।
पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको काम भने करिब अन्तिम चरणमा पुगेको छ। यो खण्डको काम ८५ प्रतिशत सकिएको छ। इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार, आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा कालोपत्रे करिब सकिएको छ। अब मादी पुल नजिक र विमलनगरको एकतर्फी मात्रै कालोपत्रे गर्न बाँकी छ भने दमौली बजारमा पनि कालोपत्रे अन्तिम चरणमा पुगेको छ।
यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी जेठ २९ गतेसम्म रहेको छ र त्यसअवधिभित्रै काम सम्पन्न गरिने पाण्डेले बताए। पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको छ।
विसं २०२६ सालमा रेखाङ्कन भएको यस सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो।