संसद्को गतिरोध हटाउन सभामुखद्वारा प्रमुख दलका सचेतकहरूसँग छलफल
संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न दलहरूलाई आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
429
Shares
तस्बिर फाइल
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउने विषयमा प्रमुख तीन दलका प्रमुख सचेतक र मुख्य सचेतकहरूसँग छलफल गरेका छन्।
सिंहदरबारमा आज बिहान भएको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए।
सभामुख घिमिरेले राजनीतिक दलहरूबीच सहमति जुटाउन पटक-पटक संसद् बैठक स्थगित गरे पनि निकास नआएको भन्दै असन्तुष्टि व्यक्त गरे। संसद् अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न दलहरूलाई आग्रह गरे।
प्रमुख विपक्षी माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले आजै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएको र त्यसपछि आफूहरूको धारणा सार्वजनिक गर्ने बताए।
सत्तारुढ एमालेका प्रमुख सचेतक बर्तौला र कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्याएका छन्। संसद्मा जारी गतिरोध अझै लम्बिने सङ्केत देखिएको छ।