बाम्का बजारका आगलागीपीडितलाई एकद्वार प्रणालीमार्फत राहत वितरण गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
561
Shares
बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्वार प्रणाली अपनाउने भएको छ। गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिन्डरबाट ग्यास चुहावट भई आगलागी हुँदा बजारमा ठूलो क्षति पुगेको थियो।
आगलागीका कारण ३१ पसल पूर्ण रूपमा क्षति भएको र सात पसलमा आंशिक क्षति पुगेको प्रारम्भिक अनुमान छ। यस आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
राहत वितरण तथा पुनःस्थापनाका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। बुढीगङ्गा–६ का वडाध्यक्ष हेमराज जैशीका अनुसार, शनिबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले यो निर्णय गरेको हो।
समितिमा त्रिवेणी नगर प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला जैशी (न्यौपान), बुढीगङ्गा नगरपालिकाका उपप्रमुख माया खड्का (कँुवर) लगायतका पदाधिकारीहरू समावेश छन्। दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि स्थानीय तह, सङ्घ, प्रदेश र सङ्घसंस्थाहरूलाई आह्वान गर्ने निर्णय गरेको त्रिवेणीका नगरप्रमुख थापाले बताए।
यसैबीच, बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले १ लाख रुपैयाँ नगद सहयोग गरेको छ। बुढीनन्दा नगरप्रमुख बोहराले अग्निपीडित राहत व्यवस्थापन समितिका संयोजक बानियाँलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
नगरप्रमुख बोहराले विपत्तिका बेला सबै स्थानीय तहले सहयोग गर्नुपर्ने बताए।