कांग्रेस पुस्तकालय तथा श्रोतकेन्द्र विभागको श्रृङ्खलामा खानेपानी, सरसफाइ तथा स्वच्छता
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २४ शनिबार
3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका विभिन्न विभागहरु नियमित रुपले सक्रिय भएर आफ्ना कार्यक्रमहरु गर्न लागिपरेका छन् । सक्रिय हुने विभागमा पुस्तकालय तथा श्रोतकेन्द्र विभाग पनि पर्छ ।
यो विभागले नियमित रुपमा आफ्ना गतिविधिहरु गर्दै आएको छ । सो क्रममा पुस्तकालय तथा श्रोतकेन्द्र विभागको नियमित श्रृङ्खला 'पूर्वाधार मिमांसा' अन्तर्गत बिहीबार "राज्यको प्राथमिकतामा खानेपानी, सरसफाइ तथा स्वच्छता" विषयमा विमर्श सम्पन्न भयो ।
पूर्व सचिव ई. सुमन शर्मा र पूर्व सहसचिव ई. सुदर्शन भण्डारीको प्रस्तुतिबाट बजेट विनियोजन, तहगत जिम्मेवारी, ढल व्यवस्थापनको चुनौती र नागरिकको स्वच्छ खानेपानीप्रतिको मौलिक हक सुनिश्चित गर्न राज्यको भूमिकामा छलफल भएको अध्यक्षता गरेका विभागीय प्रमुख तथा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।
नेपाली जनताको जीवनस्तर उकास्न आधारशिला सावित हुने खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी विषयवस्तुहरूलाई समेटेर भएको मिमांसामा सहभागीहरूलाई पार्टीको केन्द्रीय कार्यालयको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको तर्फबाट शिवाकोटीले धन्यवादसमेत व्यक्त गरेका छन् ।
अध्ययन, अनुसन्धान र नीति निर्माणमा योगदान पु-याउने उद्देश्यले भएको यो छलफलमा भएको गहिरो अध्ययनको ज्ञानबाट लाभान्वित भएकोसमेत उनले बताए ।
सामाजिक सञ्जालमा लेख्दै शिवाकोटीले उल्लेख गरेका छन्, 'नेपालमा अझै पनि स्वच्छ खानेपानी र सरसफाइ सेवाको सर्वसुलभ पहुँच एक चुनौतीपूर्ण विषय हो। यद्यपि पछिल्लो केही दशकहरूमा यस क्षेत्रमा उल्लेख्य प्रगति भएको छ। हालसम्म आधारभूत खानेपानी सेवामा पहुँच बढ्दै जाँदा सुरक्षित तथा दिगो खानेपानी पहुँचको दर अझै सुधार गर्नु आवश्यक छ। ग्रामीण तथा शहरी क्षेत्रबीचको पहुँचको खाडल, जलस्रोतको गुणस्तर, तथा भौगोलिक विकटता जस्ता समस्याहरू अझै पनि समाधानको पर्खाइमा छन् ।'
उनले थपेका छन्, 'नेपाल सरकारले खानेपानीलाई आधारभूत मानव अधिकारको रूपमा स्वीकार गर्दै नीति तथा कार्यक्रमहरू अघि सारेको छ। खानेपानी तथा सरसफाइको दिगोपनलाई सुनिश्चित गर्न विभिन्न बहु-क्षेत्रीय योजनाहरू कार्यान्वयनमा छन्। स्थानीय तहको सशक्तिकरणपछि खानेपानी आयोजना सञ्चालनमा समुदायको सहभागिता उल्लेखनीय रहेको छ।'
२०८२/८३ को वार्षिक बजेटले खानेपानी तथा सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्दै खानेपानी क्षेत्रमा करिब ३३ अर्ब रुपैयाँ विनियोजन गरेको छ। यो रकमले ग्रामीण खानेपानी योजना, सहरी खानेपानी सुधार, मेलम्ची खानेपानी आयोजना, साना शहर तथा भूकम्प प्रभावित क्षेत्रका आयोजना, तथा जलश्रोत संरक्षणका कार्यक्रमहरूमा खर्च गरिने उल्लेख छ। सरकारको नीति “सबैका लागि सुरक्षित खानेपानी” को नारालाई मूर्तरूप दिन, दिगो विकास लक्ष्यसँग मेल खाने गरी काम अघि बढाइएको छ।
खानेपानी र स्वच्छता एक अर्कासँग अभिन्न रूपमा जोडिएका छन्। स्वच्छतामा कमी भएमा उपलब्ध खानेपानी पनि प्रदूषित हुन्छ, जसले जलजन्य रोगहरूको जोखिम बढाउँछ। त्यसैले, स्वच्छता सम्बन्धी जनचेतना, सरसफाइ पूर्वाधार निर्माण, र नियमित अनुगमनको आवश्यकता अझ बढ्दो छ। सुरक्षित मल-मूत्र व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, तथा खुला दिशामुक्त अभियानहरू यस सन्दर्भमा महत्त्वपूर्ण छन्।
केन्द्रीय सदस्य शिवाकोटीले भने, 'हामी नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादमा आधारित समावेशी विकासको पक्षधर पार्टीको नाताले, जनताको स्वास्थ्य, गरिमा र जीवनस्तरको उन्नयनमा खानेपानी तथा स्वच्छताको सुनिश्चिततालाई केन्द्रमा राख्छौँ । यस पुस्तकालयमा भएको छलफलपछि प्राप्त निचोड र थप अध्ययन सामग्रीहरू अनुसन्धानकर्ता, नीतिनिर्माता, विद्यार्थी तथा पार्टीका सम्बन्धित विभागलाई महत्वपूर्ण स्रोत बन्नेमा हामी आशावादी छौँ । विभागीय प्रमुखको नाताले म यस पुस्तकालय तथा स्रोत केन्द्रको तर्फबाट, यस छलफलमा योगदान गर्ने सबै पक्षलाई धन्यवाद दिन्छु। भविष्यमा पनि यस्ता सामग्रीहरूलाई समावेश गरी पुस्तकालयलाई एक ज्ञानको केन्द्र बनाउँदै लैजाने हाम्रो अभियानमा यहाँहरूको सक्रिय सहभागिता निरन्तर रहनेछ अनि अपेक्षा गर्छु।'