arrow

बुल्गेरिया सन् २०२६ देखि युरोजोनमा, युरोपेली सङ्घको स्वीकृति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
european-union-eu.jpg

काठमाडौं ।  युरोपेली सङ्घ (ईयू) ले बुल्गेरियालाई सन् २०२६ जनवरी १ देखि युरो मुद्रा अपनाउन स्वीकृति दिएको छ। यो निर्णयसँगै बुल्गेरिया युरो मुद्रा प्रयोग गर्ने 'युरोजोन' मा प्रवेश गर्ने २१औं देश बन्नेछ।

युरोपेली आयोगले बुधबार दिएको निर्णयमा बुल्गेरियाले युरो अपनाउनका लागि आवश्यक सबै कडा आर्थिक मापदण्डहरू पूरा गरेको उल्लेख छ। युरोपेली केन्द्रीय बैंकले पनि सकारात्मक प्रतिक्रिया दिँदै बुल्गेरियाको 'आवश्यक समायोजनहरूमा देखिएको गहिरो प्रतिबद्धता' को प्रशंसा गरेको छ।

बुल्गेरियाका प्रधानमन्त्री रोसेन जेल्याज्कोभले यसलाई 'एक ऐतिहासिक र गर्वको दिन' भन्दै स्वागत गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मा उल्लेख गरे, "युरोमा जाने हाम्रो यात्रामा आजको दिन अर्को महत्त्वपूर्ण कदम हो। यो सुधार, समर्पण र युरोपेली साझेदारहरूसँगको दीर्घकालीन सहकार्यको परिणाम हो।"

यद्यपि, बुल्गेरियाका सबै नागरिक भने यस निर्णयबाट सन्तुष्ट देखिएका छैनन्। देशभित्र युरोको विरोधमा जनभावना चर्किएको छ। पछिल्ला सर्वेक्षणहरूमा करिब आधा जनसङ्ख्याले युरो लागू गर्नु उचित नहुने बताएका छन्। उनीहरू मूल्यवृद्धि, आर्थिक अस्थिरता र राष्ट्रिय स्वाधीनता गुम्ने डर व्यक्त गरिरहेका छन्।

बुल्गेरियाको युरो प्रवेश यात्रा सजिलो भने रहेन। विगत तीन वर्षमा सातवटा संसदीय निर्वाचनको सामना गरेको देशले राजनीतिक अस्थिरता, मुद्रास्फीति र आर्थिक चुनौतीहरूको सामना गर्दै आएको थियो। यसअघि देशले आवश्यक मापदण्डहरू मध्ये सबै पूरा गरे पनि मुद्रास्फीति दर अत्यधिक रहेकाले युरो सदस्यता रोकिएको थियो। तर, पछिल्लो १२ महिनामा देशको औसत मुद्रास्फीति दर २.७ प्रतिशत पुगेको छ, जुन युरो क्षेत्रको सन्दर्भ मूल्यभन्दा कम हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ