सिमकोट (हुम्ला) । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ। यो क्षेत्रबाट कैलाश मानसरोवर स्पष्ट देख्न सकिने भएकाले आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको छ।
नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्सा हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि नै आन्तरिक पर्यटकहरू कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्न थालेको बताए। यद्यपि, यो क्षेत्र पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने सम्भावना भए पनि उचित व्यवस्थापन र प्रचारप्रसारको अभावमा हाल आन्तरिक पर्यटक मात्रै पुग्ने गरेको उनको भनाइ छ।
कैलाश मानसरोवर दूरदर्शनका लागि जेठदेखि कात्तिकसम्मको समय उत्तम मानिन्छ। हिउँदयामको छ महिनासम्म भारी हिमपातका कारण हिल्सा, न्यालु, यारी नारालगायतका क्षेत्रमा जाने बाटोसमेत बन्द हुने गर्छ। हिउँ पन्छाएर बाटो खुलेसँगै लिमी भ्यालीमा विस्तारै चहलपहल बढ्दै गएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।
उनका अनुसार, "लिमीको लोलुङबाट कैलाश मानसरोवर प्रस्ट देख्न सकिन्छ। यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलोमिटर दूरीमा पर्छ। सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट हिल्साभन्दा अझ सहज रूपमा आवतजावत गर्न सकिनेछ।"
हुम्लाको सदरमुकाम सिमकोटबाट गाडीमा एक दिनको यात्रामा लिमी भ्याली पुग्न सकिन्छ भने पैदलमार्गबाट चार दिन लाग्ने गर्छ। लिमी उपत्यका जाने पर्यटकले खानेकुरा, टेन्ट, वाटरप्रुफ ज्याकेट, झोला, न्यानो कपडा, ट्रेकिङ सुज, लौरो, र औषधि अनिवार्य रूपमा बोक्नुपर्ने सुझाव दिइएको छ।
नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्न सकिने यस्तो महत्त्वपूर्ण स्थलको पर्याप्त प्रचारप्रसार हुन नसक्दा पर्यटकको चहलपहल सोचेअनुसार बढ्न सकेको छैन। यो क्षेत्रको सम्भावनालाई उजागर गर्न थप पहल आवश्यक देखिन्छ।