कञ्चनपुर । कञ्चनपुरका चार स्थानीय तहले आज (बिहीबार, जेठ २३) सार्वजनिक बिदा दिएका छन्। बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा ती पालिकाहरूले बिदा दिएका हुन्।
जिल्लाको बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, र बेल्डाँडी गाउँपालिकाले बिहीबार एक दिनको बिदा दिएका छन्। यस्तै, लालझाडी गाउँपालिकाले भने बिहीबार र शुक्रबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले भकुण्डामा लाग्ने मेला नगरपालिकाको प्रमुख धार्मिक गन्तव्य भएकोले बिदा दिइएको बताए। उनका अनुसार, बेलौरी नगरपालिकाको वडा नं ५ मा रहेको प्रसिद्ध धार्मिकस्थल नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा हरेक वर्ष ज्येष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गादशहरा मेला लाग्ने गर्छ।
नगरप्रमुख चौधरीले भने, "यो क्षेत्रको ऐतिहासिक नक्टाबाबालाई प्रमुख धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने हाम्रो उद्देश्य छ। यसको महत्त्वलाई दृष्टिगत गरेर हामीले हरेक वर्ष गङ्गादशहरामा एक दिन बिदा दिने गरेका छौँ।"
बेलौरी नगरपालिका–५ का वडाअध्यक्ष लालबहादुर चौधरीले नक्टाबाबा मन्दिरमा परापूर्वकालदेखि नै ठूलो मेला लाग्ने गरेको जानकारी दिए। "रानाहरूको भाषामा नक्टाबाबा भनेर चिनिने यस स्थानमा गङ्गादशहरामा हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ," उनले भने, "नेपाल र छिमेकी मुलुक भारतका गरी एक लाखभन्दा बढी दर्शनार्थीहरू यहाँ आउने गरेका छन्।"
वडाअध्यक्ष चौधरीले यस क्षेत्रलाई धार्मिक सम्पदाको सूचीमा राख्नका लागि नगरपालिकाबाट पहल भइरहेको पनि बताए। मेलामा कञ्चनपुर, कैलाली र बर्दिया जिल्लाबाट तथा छिमेकी मुलुक भारतका खिरी, बरेली, कानपुर, लखनउलगायतका क्षेत्रबाट पनि दर्शनार्थीहरू आउने गरेका छन्।