लामो प्रतीक्षापछि अन्ततः बेंगलुरुले जित्यो आईपीएल उपाधि
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
570
Shares
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सर्वाधिक लोकप्रिय टोलीहरूमध्ये एक रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले १८ सिजनको लामो प्रतीक्षापछि अन्ततः आफ्नो पहिलो उपाधि जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा मंगलबार राति भएको फाइनल खेलमा बेंगलुरुले पञ्जाब किंग्स (पीबीकेएस) लाई ६ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो। यस जितसँगै पञ्जाबको पहिलो आईपीएल उपाधिको प्रतीक्षा भने अझै लम्बिएको छ।
बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाएका थिए ।
यसपटक आईपीएलमा पहिलो पटक कप्तानी गरिरहेका रजत पाटीदारको नेतृत्वमा बेंगलुरुले घरबाहिरका सबै खेलमा विजय हासिल गर्यो। टोलीले कुल ११ खेल जित्यो, जसमा ९ फरक-फरक खेलाडी 'प्लेयर अफ द म्याच' बने। यसले बेंगलुरुले ठूला नामहरूमा मात्र निर्भर नभई, एक सशक्त टोलीको रूपमा कसरी च्याम्पियन बन्न सकिन्छ भन्ने प्रमाणित गरेको छ।
यस सिजनमा बेंगलुरुका ४ ब्याटरले २५० भन्दा बढी रन बनाए। विराट कोहली ६५७ रन बनाएर शीर्ष स्थानमा रहे। ओपनिङमा फिल सल्टले उनको राम्रो साथ दिए, जसले १७५ भन्दा बढीको स्ट्राइक रेटमा ४०३ रन बनाए। १० खेल खेलेपछि घाइते भएर बाहिरिएका देवदत्त पडिक्कलले पनि १५० को स्ट्राइक रेटमा २४७ रन बनाए। कप्तान पाटीदारले पनि ३१२ रन बनाए। यी चारै जनाले मिलेर बेंगलुरुको लोअर मिडिल अर्डरमा दबाब बढ्न दिएनन्।
फिनिसरहरूमा कहिलेकाहीँ दबाब बढे पनि जितेश, डेभिड, र शेफर्डले मौकाको फाइदा उठाउँदै टोलीलाई जित दिलाए। लिग स्टेजको अन्तिम खेलमा जब बेंगलुरुलाई शीर्ष-२ मा पुग्न २२८ रन चेज गर्नुपरेको थियो, तब विकेटकीपर जितेशले नै ३३ बलमा ८५ रन बनाएर बेंगलुरुलाई जित दिलाएका थिए।
बेंगलुरुले बलिङ युनिटमा पनि ठूलो परिवर्तन गरेन। जोश हेजलवुड, यश दयाल, र भुवनेश्वर कुमारलाई नयाँ बल र डेथ ओभरहरू सम्हाल्ने जिम्मेवारी दिइएको थियो। स्पिनर क्रुणाल पाण्ड्या र सुयश शर्मालाई मिडिल ओभरमा रन रोक्ने जिम्मा दिइयो। दुवै स्पिनरले ८.५० भन्दा कमको इकोनोमीमा रन खर्च गरे र २५ विकेट पनि लिए। क्रुणालले त फाइनलमा पनि किफायती बलिङ गरे र १७ रन मात्र खर्चेर २ महत्त्वपूर्ण विकेट लिए।
हेजलवुड चोटका कारण १२ खेल मात्र खेल्न सके, तर उनले २२ विकेट लिए। उनले भुवनेश्वर कुमारसँग मिलेर पावरप्लेमा बेंगलुरुको बलिङमा दबाब बढ्न दिएनन्। भुवी र हेजलवुड कहिलेकाहीँ असफल भएमा, लेफ्ट आर्म पेसर यश दयाल तेस्रो स्पेलमा आएर विकेट लिन्थे। बेंगलुरुका पेसरहरूले ६४ विकेट लिए, जुन यस सिजनमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद पछि तेस्रो धेरै थियो।
पञ्जाब र बेंगलुरु १८औं सिजनका ती टोलीहरूमध्ये थिए, जसले होमग्राउन्डमा कम र घरबाहिर धेरै खेल जिते। बेंगलुरुले १५ मध्ये १० खेल होमग्राउन्ड बाहिर खेल्यो र ९ मा जित हासिल गर्यो।
बेंगलुरु २००८ देखि आईपीएल खेलिरहेका टोलीहरूको हिस्सा हो। २०२४ सम्म टोलीसँग कुनै पनि उपाधि थिएन, तर टोली ३ पटक फाइनलमा भने पुगेको थियो। २००९, २०११, र २०१६ मा बेंगलुरुले ३ फाइनल खेल्यो, तर तीनै गुमायो।
२०२५ अघि बेंगलुरुका लागि रोचक कुरा तीनै फाइनल टोलीले चेज गर्दा गुमाएको थियो। २००९ मा डेक्कन चार्जर्सविरुद्ध बेंगलुरुले टस जित्यो, तर ६ रनले खेल गुमायो। २०११ र २०१६ मा टोलीले टस हारेर पहिले बलिङ गर्नुपर्यो, तर चेन्नाई र हैदराबादसँग हार मिल्यो।
१८ सिजनमा पहिलो पटक बेंगलुरुलाई फाइनलमा पहिले ब्याटिङ गर्ने मौका मिल्यो। अहमदाबादको ब्याटिङ-मैत्री पिचमा टोली १९० रन मात्र बनाउन सक्यो, जुन लक्ष्य भन्दा करिब १५-२० रन कम थियो। किनभने पञ्जाबले यसै मैदानमा मुम्बईविरुद्ध क्वालिफायर-१ मा एक ओभर बाँकी रहँदै २०४ रन चेज गरिसकेको थियो। यद्यपि, यसपटक बेंगलुरुले आफ्नो उत्कृष्ट बलिङको दममा भाग्य बदल्यो र पञ्जाबलाई १८४ रनमा रोकेर उपाधि आफ्नो नाम गर्यो।