arrow

आईपीएल समापनको विषयवस्तु ‘अपरेशन सिन्दूर’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
narendra-modi-stadium-.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको अठारौँ संस्करण आज सकिँदैछ । आज आईपीएलले नयाँ च्याम्पियन पाउँदैछ । 

पहिलो पटक उपाधिविहीन दुई टोलीहरु रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किंग्स फाइनलमा पुगेसँगै आईपीएलले नयाँ विजेता पाउन लागेको हो । 

पञ्जाब किंग्स ११ वर्षपछि र बैंगलुरु ९ वर्षपछि फाइनलमा पुगेको हो । 

खेल अहमदाबादमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ । आईपीएलका १७ औं संस्करणसम्म मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले समान ५, कोलकाता नाइट राइडर्सले ३ तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटान्सले समान १–१ उपाधि जितेका छन् । 

अहिलेसम्म सात टिमले उपाधि जितेकामा आजदेखि आठौँ टिम बैंगलुरु वा पञ्जाब हुनेछ । 

समापन
समापनको कार्यक्रम भने खेल शुरु हुनुअघि हुनेछ । उक्त विशेष कार्यक्रम हालै भारतले पाकिस्तानमा रहेका आतंकवादीविरुद्ध चलाएको ‘अपरेशन सिन्दूर’ लाई थिम (विषयवस्तु) बनाएर तयार भएको जनाइएको छ । 

कार्यक्रम तीन सेनाका प्रमुखहरुलाई बोलाइएको छ । यद्यपि उनीहरु आउने वा नआउनेबारे कुनै टुंगो लागेको छैन । 

उक्त नरेन्द्र मोदी रंगशालामा १ लाख ३२ हजार दर्शक अट्ने क्षमता छ । यो सबैभन्दा ठूलो रंगशाला हो । 

२५ हजार सिट सुरक्षाकर्मी र व्यवस्थापनका लागि राखिएको छ भने बाँकी सिटका टिकट बिक्री भइसकेको छ । 

पूरै रंगशाला भारतीय झण्डाको लाइटले सजाइएको छ । सो क्रममा शंकर महादेवनको लाइभ कन्सर्ट हुनेछ । 

महादेवनले अपरेशन सिन्दूरका क्रममा ज्यान गुमाएका सेना तथा पहलगाम आक्रमणमा मारिएका एक नेपालीसहित २६ हिन्दूधर्मीको नाममा गीत गाएर श्रद्धाञ्जली अर्पण गर्नेछन् । 

उनले आफ्ना छोराहरु सिद्धार्थ र शिवमसँगै प्रस्तुति दिनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ