arrow

कृषिमा लुट

किसानका बेथाः कहिले मल नपाएर, कहिले मूल्य नपाएर चिन्तित

सरकारले तोकेको धानको न्यूनतम मूल्य नपाएपछि आन्दोलित, सरकारले माग बेवास्ता गरे सशक्त भएर उत्रने चेतावनी

logo
युवराज रेग्मी, 
प्रकाशित २०८२ जेठ १९ सोमबार
kisan-andolan-82-2-19.jpg

झापा । यतिबेला झापाका किसानहरु सडक आन्दोलनमा छन् । चैतेधान उत्पादनको समयमा आवश्यक पर्ने रासायनिक मल नपाएर चिन्तित बनेका किसानहरुले जेनतेन दु:ख गरी उत्पादन गरेको धानले सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्य नपाएपछि किसानहरु चरणबद्ध आन्दोलनमा उत्रन बाध्य भएको आन्दोलनमा उपस्थित इन्दिरा पोखरेलले हाम्राकुरालाई बताइन् । 

'एकातर्फ यस वर्ष चैतेधान उत्पादनको समयमा हामी किसानहरु रासायनिक मल युरिया र डीएपी नपाएर ठूलो मर्कामा परेका छौँ, धान रोपेपछि सरकारले हामीहरुलाई सहुलियत दरको अनुदानको मल उपलब्ध गराउन सकेन ।  बाध्य भएर हामीहरुले महँगो मूल्यमा मल खरिद गरेर  जेनतेन धान उत्पादन गर्यौं । तर यतिबेला धमाधम धान बिक्री गर्ने समयमा  स्थानीय ब्यापारीहरुले सरकारले तोकिदिएको चैते धानको न्यूनतम समर्थन  मूल्यलाई बेवास्ता गर्दै मनोमानी ढङ्गले एक्दमै न्यून मूल्यमा धान खरिद गर्दै आएकोले आफुहरु मर्कामा परेर सडक आन्दोलनमा उत्रन बाध्य भयौँ' पोखरेलले दुखेसो पोखिन् ।

किसानहरुले चरणबद्ध आन्दोलन स्वरुप आइतबार झापाको गौरादह नगरपालिका अन्तर्गतका कृषक समूहहरुको अगुवाइमा गौरादह नगरपालिका वडा न  ८ मा पर्ने पाडाजुङ्गी-गौरिगञ्ज़ सडक खण्डको  चन्दन चोकमा बिहान ९ देखि ११ बजेसम्म दुई घण्टा चक्काजाम  गरी सवारी आबागमन बन्द गर्दै कृषकहरुले मागहरु सरकार समक्ष राखेका थिए । 
 
विभिन्न कृषि समूह र स्थानीय कृषकहरुले संघर्ष समिति नै खडा गरी संयुक्त रुपमा आयोजित आन्दोलनमा उनीहरुले आफ्ना मागहरु सम्बोधन गरिदिन भन्दै सरकारलाई दबावदिन उक्त कार्यक्रम आयोजना गरेको आन्दोलनमा उपस्थित किसानहरुले बताए ।
  
आफूहरु मर्कामा परेर विभिन्न तहमा गुनासो राखे पनि आफूहरुको मर्कालाई सम्बोधनगर्न हालसम्म कुनै पहल नभएपछि बाध्य भएर आफूहरु सडकमा आएको कृषकहरुको भनाइ छ । 

स्थानीय ब्यापारीहरुले धान खरिदमा न्यून मूल्य निर्धारण गर्दै सिन्डिकेटमा समर्थन मूल्य भन्दा कम मूल्यमा किसानलाई धान बेच्न बाध्य पारेपछि कृषक समूहहरु हलो, जुवा र आफूले उत्पादन गरेको धान (बर्खे गर्माधान ) सहित झापाको गौरादह नगरपालिका स्थित चन्दन चोकमा उत्रेका हुन् ।

यस वर्ष सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २८ सय  (प्रतिमन ११ सय २०) रुपैयाँ तोकेको छ । तर स्थानीय व्यापारीहरुले धानको बजार मूल्य  प्रतिमन रु ६०० रुपैयाँ सम्म झारेको भन्दै किसानहरू आन्दोलित भएका हुन् ।

आन्दोलनकै क्रममा किसानहरुले आफ्ना  मागहरु सम्बोधनका लागि सरकारले तोकेको धानको न्यूनतम समर्थन  मूल्य सुनिश्चित गर्न साथै कृषि उपजमा आवस्यक पर्ने मल, बीउ र औषधि समयमै  उपलब्ध गराउन जोडदार माग गरेका थिए ।

किसानहरुले  कृषि प्रणालीमा सहजता प्रदानगर्न खेत जोताईमा प्रयोगहुने ट्याक्टरको समय घन्टा दर न्यूनतम बनाउनका लागि पहल गरिदिन स्थानीय सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

आन्दोलनकै माध्यमबाट कृषकहरुले आफूहरुलाई कृषि सिँचाइ महसुलमा पूर्णछुट उपलब्ध गराउ सरकार समक्ष अनुरोध गरे । 

 यदि आफूहरुका मागलाई सरकारले बेवास्ता गरे आफूहरु अझ सशक्त रुपमा  आन्दोलनमा उत्रने उनीहरुले चेतावनीसमेत  दिए  ।

किसानहरुको गुनासोबारे बुझ्दा गौरादह नगरपालिका वडा ४ डोरामारिका एक स्थानीय व्यापारी महेन्द्र भण्डारीले किसानहरुबाट आफूले रु ६०० प्रतिमनका दरले चैतेधान खरिद गर्दै गरेको स्वीकारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ