झापाको मेचीनगरमा हात्तीपछि चितुवाको आतंक, स्थानीय त्रसित
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
632
Shares
तस्बिर फाइल
झापा। झापाको मेचीनगर नगरपालिका–२ र ४, जहाँ पहिलेदेखि नै हात्तीको समस्या थियो, अहिले चितुवाको आतंकले स्थानीयवासीलाई थप चिन्तित बनाएको छ। पछिल्लो १५ दिनयता चितुवाले साँझ परेपछि खोरबाट बाख्रा र सुँगुर मारेर खाने गरेको स्थानीयले बताएका छन्।
मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालका अनुसार, दिनभरि चिया बगान र निजी वनमा लुक्ने चितुवाले बेलुका पशुपंक्षीमाथि आक्रमण गर्ने गरेको छ। "हात्तीको नियमित आतंक, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामना गर्नुपरिरहेको छ," वडाध्यक्ष बरालले भने, "प्रत्येक दिन खोरबाट बाख्रा, सुँगुर तानेर खाइरहेको छ। अब बालबालिका कसरी जोगाउनु भन्ने चिन्ता छ।"
हालसम्म चितुवाले दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगुर मारिसकेको छ। स्थानीय चिया बगानका श्रमिक, बिहान–बेलुका बाटो हिँड्ने व्यक्ति र स्कुले बालबालिका चितुवाको सम्भावित आक्रमणले त्रसित छन्। वडाध्यक्ष बरालले अहिलेसम्म पशुपंक्षी मात्र मारिए पनि कुनै पनि बेला बालबालिका, बाटो हिँड्ने र बगानमा काम गर्ने मानिसलाई आक्रमण गर्न सक्ने जोखिम रहेको बताएका छन्।
मानवीय क्षतिको त्रास बढेकाले चितुवालाई नियन्त्रणमा लिन फलामे खोरमा पासो थापिएको उनले जानकारी दिए। वडाध्यक्ष बरालले डिभिजन वन कार्यालय झापा, जीवजन्तुका क्षेत्रमा काम गरिरहेका संघसंस्था र व्यक्तिहरूलाई तत्काल यस क्षेत्रमा रहेको चितुवा नियन्त्रणमा पहल गरिदिन सामाजिक सञ्जालमार्फत अपिलसमेत गरेका छन्। उनले यस क्षेत्रमा दुई वा सोभन्दा बढी वयस्क चितुवा रहेको दाबी गरेका छन्।
दुई महिनाअघि मेचीनगर–४ बाहुनडाँगीमा समेत चितुवाले स्थानीयवासीका एक दर्जन खसीबाख्रा मारेको थियो। कनकाईस्थित जामनुखाडी सामुदायिक वनबाट फलामे खोर ल्याएर पासो थापे पनि हालसम्म चितुवा नियन्त्रणमा लिन नसकेको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए।
डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले चितुवाले पशु चौपाया मारेको भए पनि मानवीय क्षति नभएको बताए। उनले चितुवा हिँडिरहने जनावर भएका कारण इलाम–झापाको सीमावर्ती क्षेत्रमा बस्ने गरेको हुनसक्ने बताए।
सात वर्षअघि पनि यही क्षेत्रमा चितुवा देखापरेको थियो र त्यतिबेला खोरमा पारेर नियन्त्रणमा लिइएको वडाध्यक्ष कार्कीले बताए। बाहुनडाँगी नजिकै सीमावर्ती भारतीय क्षेत्रमा वन्यजन्तु आरक्षण केन्द्र भएको हुँदा त्यहाँबाट कहिलेकाहीँ जंगली जनावर डुल्दै आइपुग्ने गर्छन्। विगतमा निगाले बाघ र गौरी गाईसमेत बाहुनडाँगीमा फेला परेका थिए।