‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव भव्यताका साथ मनाइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
613
Shares
म्याग्दी। नेपालको पहिलो आठ हजार मिटरभन्दा अग्लो हिमाल, अन्नपूर्ण प्रथमको आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको नारच्याङमा हीरक महोत्सव मनाइँदैछ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अवस्थित अन्नपूर्ण गाउँपालिका–४, नारच्याङबाट आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशविन्दु नारच्याङ बेँसीमा स्वागत गरेर हीरक महोत्सवको औपचारिक शुभारम्भ गरिएको हो।
यस पदयात्रा टोलीमा अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोगका छोरा फ्रान्सका माथिएस हर्जोग र नाती इथेन हर्जोगसहित १४ विदेशी पाहुना, पर्यटन व्यवसायी तथा पत्रकारहरूको सहभागिता रहेको छ। उनीहरूलाई अन्नपूर्ण–४ वडा कार्यालय, अन्नपूर्ण जनजागरण युवा क्लब र सिर्जनशील आमा समूहले स्वागत गरेका थिए।
माथिएस हर्जोगसँग आएका फ्रान्सका कलाकारहरूले प्रथम आरोहीको सम्मानमा साङ्गीतिक प्रस्तुति दिएका थिए। उनीहरूले जेठ १९ गते साँझ अन्नपूर्ण आधार शिविरमा पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ। वडाध्यक्ष लोकबहादुर पुनका अनुसार, फ्रान्स, बेलायत, भारत र इटालीका पाहुनाहरू सरकारको निमन्त्रणामा हीरक जयन्तीको कार्यक्रममा सहभागी हुन आएका हुन्।
नेपालको पर्यटन क्षेत्रको विकास, पर्वतारोहणको शुभारम्भ र हिमाललाई विश्वभर चिनाएको दिनको सम्झनामा जेठ २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक महोत्सव मनाइने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए। "आरोहणको ७५ वर्षपछि पहिलोपटक सम्बन्धित भूगोलमा महोत्सव मनाउन पाएकामा हर्षित छौं," उनले भने, "हर्जोगको टोलीबाट भएको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भएकाले हीरक महोत्सव आयोजना गरिएको हो।"
यसअघि काठमाडौँ र पोखरामा मात्र अन्नपूर्ण आरोहण दिवस मनाइने गरिएको थियो। आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई 'जेठो हिमाल' भनिन्छ। सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि मात्र सगरमाथाको सफल आरोहण भएको थियो।
महोत्सवको अवसरमा जेठ १९ र २० गते अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुख्र्यौली नृत्य, झाँकी तथा खुला नृत्य प्रतियोगिता आयोजना गरिनेछ।
जेठ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आधार शिविरमा राखिएका आरोहीका सालिक अनावरण, सङ्ग्रहालय र मौरिस हर्जोग पदमार्गको उद्घाटन गरिनेछ। सोही दिन नारच्याङ बेँसीमा मूल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिए।
जेठ २० गते आधार शिविरबाट नारच्याङसम्म म्याराथन दौड प्रतियोगितामा म्याग्दीका ४२ जना धावकले नाम दर्ता गराएका छन्। जेठ २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ।
महोत्सवको समापनका अवसरमा जेठ २२ गते पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गरिनेछ। साथै, हर्जोगले लेखेको र फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक 'द अन्नपूर्ण' को पनि विमोचन गर्ने कार्यक्रम तय भएको छ।
अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक भएर यो महोत्सव मनाइँदैछ। नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो। यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले 'मौरिस हर्जोग' नामकरण गरेको छ।