कोशीमा मनसुनी प्रभाव, अन्यत्र पश्चिमी र स्थानीय वायुको असर : वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
479
Shares
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ। यसका साथै, कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा भने मौसम सफादेखि आंशिक बदली रहने सम्भावना छ।
वर्षाको कुरा गर्दा, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। \
यस्तै, देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।