सगरमाथामा फोहर व्यवस्थापनबारे प्रधानमन्त्रीको प्रस्ताव- खानेकुराका खोल बेस क्याम्पमा बुझाउनुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
954
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा सरसफाईलाई एउटा अभियानको रुपमा अघि बढाउन जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले सगरमाथामा फोहोरमैलाको ठूलो समस्या रहेको उल्लेख गर्दै त्यसलाई सफा गर्नुपर्ने चुनौती रहेको बताए। उनले दुई चरणमा सरसफाई अभियान चलाइसक्दा पनि अझै पूर्ण रुपमा सफा हुन नसकेको स्वीकार गरे।
उनले सगरमाथा सफाईका लागि केही नियमहरू बनाउनुपर्नेमा जोड दिए। "मैले अहिले पनि सुने साथीहरूका छलफलहरू। त्यसमा म केही भन्न चाहन्न। धेरै केही भनिरहन आवश्यक पनि छैन। यस क्षेत्रमा अहिले खासगरी सगरमाथा क्षेत्रमा फोहोरमैलाको समस्या छ। त्यसलाई सफा गर्नुपर्ने समस्या छ। दुई राउण्ड हामीले त्यसको क्याम्पेन चलाइसक्यौँ तर पनि त्यो भइसकेको छैन," प्रधानमन्त्री ओलीले भने, "अझ पनि हामीले अभियानको रुपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्नेछ। त्यसमा केही रुल्स, रेगुलेशन पनि बनाउनुपर्नेछ। जसले लिएर जान्छ, उसले कुनै पनि फोहोर त्यहाँ गर्न पाउँदैन। जे लिएर गएको हुन्छ, त्यो चिज यदि बिस्कुट खायो भने खोल बुझाउन ल्याउनुपर्छ फेरि बेसक्याम्पमा।"
उनले यदि यस्ता नियमहरू नबनाएमा अर्को आरोही फोहोर सफा गर्न मात्र जानुपर्ने अवस्था आउने चेतावनी दिए। "एक जनाले फ्याँकेको फोहोर फेरि सफा गर्ने अर्को दुई जना चाहिन्छ। फोहोर सफाईको पनि बन्दोबस्त गर्नुपर्ने हो कि?" प्रधानमन्त्रीले प्रश्न गरे।
प्रधानमन्त्री ओलीले सरकारले अहिले ऐनको संशोधन गरिरहेको भन्दै यसमा विभिन्न पक्षहरूले आफ्ना सुझावहरू दिन सक्ने बताए। "अहिले हामी ऐनको संशोधन पनि गर्दैछौँ। नियमको संशोधन पनि गर्दैछौँ। यसमा विभिन्न पक्षहरूको बारेमा छलफल गर्नेछौँ। त्यहाँको भइरहेको क्लाउडको बारेमा," उनले थपे।