बैंगलुरु आईपीएलको फाइनलमा, पञ्जाबमाथि ८ विकेटको जित
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
824
Shares
काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुइन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति भएको पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै बैंगलुरु फाइनलमा पुगेको हो ।
चन्डिगढमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब १४.१ ओभरमै अलआउट हुँदै १०१ रनमा समेटियो ।
मार्कस स्टोइनिसले २६, प्रविसिम्रन सिंहले १८ तथा अज्मतुल्लाह ओमरजायीले १८ रन बनाए बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोर जोड्न सकेनन् ।
सुयश शर्मा र जोश हाज्लेवुडले समान ३–३, याश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १–१ विकेट लिए ।
जवाफमा बैंगलुरुले १० ओभरमै झिनो चुनौती २ विकेटको क्षतिमा पूरा गरेको हो । बैंगलुरुका लागि फिल साल्टले अर्धशतक बनाए । साल्टले जारी सिजनमा चौथो अर्धशतक बनाउने क्रममा २७ बलमा अविजित रहँदै ५६ रन बनाए ।
जितसँगै बैंगलुरु चौथो पटक फाइनलमा पुगेको छ । यसअघि सन् २००९, २०११ र २०१६ मा बैंगलुरु फाइनलमा पुगेको थियो । अहिलेसम्म बैंगलुरुले उपाधि भने जित्न सकेको छैन ।
पराजित पञ्जाबले फाइनल प्रवेशको अर्को मौकाका लागि दोस्रो क्वालिफायर खेल्न पाउने छ ।
शुक्रबार इलिमिनेटरमा मुम्बई इन्डियन्स र गुजरात टाइटान्स भिड्ने छन् । जित्ने टिमले फाइनलका लागि पञ्जाब किंग्ससँग दोस्रो क्वालिफायर खेल्नेछ ।
इलिमिनेटरमा पराजित हुने टिम बाहिरिने छ । मुम्बई पाँच पटकको च्याम्पियन हो भने गुजरात सन् २०२२ को विजेता हो ।