हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्यूनीकरणमा प्रतिबद्धताका साथ लागौँ- मन्त्री पाण्डे
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
452
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमशृङ्खलाहरूले ठूलो असर व्यहोर्नु परिरहेको बताएका छन्। बिहीबार (आज) काठमाडौंमा सगरमाथा दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
उनले जलवायु परिवर्तनले सगरमाथा लगायतका हिमशृङ्खलाहरू बिस्तारै पग्लिने, सेता हिमालहरू हिउँविहीन भई काला हुने खतरा देखिएको औंल्याए। यसको असर सगरमाथा र हिमवत खण्डमा मात्र सीमित नरही पहाड हुँदै समुद्रसम्म पुग्ने उनको भनाइ थियो। हिमालको हिउँ पग्लिएपछि निम्तिने भूक्षय, बाढी, पहिरो र यसको समुद्री प्रभावले पूरा पृथ्वीले असन्तुलन सहनुपर्ने खतरा रहेको उनले बताए।
मन्त्री पाण्डेले सगरमाथा संवादका माध्यमबाट पूरा विश्वलाई जलवायु परिवर्तनमा देखिएका असरहरू र ती असरहरू न्यूनीकरण गर्ने उपायहरूबारे गम्भीरतापूर्वक जानकारी गराइएको बताए। "हामीले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा जलवायु परिवर्तनका असर सगरमाथा क्षेत्रले, हिमालले भोग्नुपरेका असर, पूरा पृथ्वीले खेप्नुपर्ने प्रभावका बारेमा चर्चा गरेका छौँ," उनले भने, "त्यसमा पनि नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेर हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि प्रतिबद्धताका साथ लाग्नुपर्नेछ।"
७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज काठमाडौंको ठमेलदेखि वसन्तपुरसम्म पदयात्रा आयोजना गरिएको थियो।