लखनऊलाई हराउँदै बेंगलुरु क्वालिफायर-१ मा, फाइनलका लागि पञ्जाबसँग भिड्दै
कोहलीले बनाए यस्तो कीर्तिमान
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
538
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै तेस्रो ठूलो लक्ष्य सफलतापूर्वक पछ्याउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले क्वालिफायर-१ मा स्थान बनाएको छ। सिजनको अन्तिम लिग खेलमा बेंगलुरुले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै यो सफलता हात पारेको हो।
बेंगलुरुले आईपीएलमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पछ्याउँदै २२८ रनको विशाल लक्ष्य १८.४ ओभरमा मात्र ४ विकेट गुमाएर हासिल गर्यो। यस जितमा कप्तान जितेश शर्माको भूमिका निर्णायक रह्यो, जसले ३३ बलमा अविजित ८५ रनको विस्फोटक पारी खेले।
यस्तै, मयंक अग्रवालले पनि २३ बलमा अविजित ४१ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए। यी दुईबीच १०७ रनको प्रभावशाली साझेदारी भयो। अनुभवी ब्याट्सम्यान विराट कोहलीले ५४ रन बनाएर टोलीलाई बलियो सुरुवात दिए। कोहलीले यस सिजनमा आफ्नो आठौँ र समग्रमा ६३औँ आईपीएल अर्धशतक प्रहार गरेर आईपीएलमा सर्वाधिक अर्धशतक बनाउने खेलाडीको सूचीमा डेभिड वार्नर (६२ अर्धशतक) को कीर्तिमान तोडेका छन्।
खेलमा बेंगलुरुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जवाफमा, लखनऊले २० ओभरमा ३ विकेट गुमाएर २२७ रनको विशाल योगफल खडा गर्यो। लखनऊका कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रनको शानदार पारी खेले, जसमा ११ चौका र ८ छक्का समावेश थिए। मिचेल मार्शले पनि ६७ रनको अर्धशतकीय पारी खेलेर टोलीलाई ठूलो स्कोरतर्फ धकेलेका थिए।
इकाना स्टेडियममा प्राप्त यो जितसँगै बेंगलुरुले जारी सिजनको अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ। यसका साथै, अब बेंगलुरुले जेठ १५ (मे २९) मा पञ्जाब किंग्ससँग क्वालिफायर-१ खेल्नेछ। आईपीएलको ६९औं खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै क्वालिफायर-१ मा आफ्नो स्थान पक्का गरेको थियो। यी दुवै टोली फाइनलका लागि भिड्दै छन् । जित्ने टोली फाइनल खेल्नेछ भने हार्ने टोलीले पुन अर्को एलिमिनेटरमा जितेको टोलीसँग भिड्नेछ ।
आईपीएल फाइनलमा पुग्नका लागि प्लेअफ प्रणाली अपनाइन्छ। यस प्रणालीअनुसार, लिग चरणमा शीर्ष-२ मा रहने टोलीहरू क्वालिफायर-१ मा भिड्छन्। यो खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्छ, जबकि हार्ने टोलीलाई फाइनलमा पुग्ने अर्को मौका मिल्छ। तेस्रो र चौथो स्थानमा रहेका टोलीहरूबीच एलिमिनेटर खेल हुन्छ। यो खेल जित्ने टोलीले क्वालिफायर-२ मा क्वालिफायर-१ हार्ने टोलीसँग खेल्छ। क्वालिफायर-२ जित्ने टोली फाइनलमा पुग्छ, जबकि एलिमिनेटर हार्ने टोली प्रतियोगिताबाट बाहिरिन्छ।