arrow

जेहादी आतंकवादविरुद्ध जनमत तयार पार्नुपर्छ : यादव 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
binaya-yadav-against-pakistani-terrorist.jpg

काठमाडौँ । राष्ट्रिय एकता अभियानद्वारा काठमाडौँमा आयोजित "पाकिस्तानी जेहादी आतंकवाद र नेपालको सुरक्षा चुनौती" विषयक बहस कार्यक्रममा वक्ताहरुले भारत–नेपाल खुला सीमानाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित आतंकवादी समूहहरूले नेपाललाई आन्तरिक सुरक्षा चुनौती बनाउँदै लगेको गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) राजेश कर्णले पाकिस्तानी आतंककारी गतिविधिविरुद्ध नेपाल सतर्क रहनु पर्ने आबाश्यकतामा जोड दिए ।प्रमुख वक्ताका रूपमा वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेल, राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले आतंकवादको बदलिँदो रूप र त्यसको क्षेत्रीय प्रभावबारे धारणा राखे।

वक्ताहरुले सन् १९८० को दशकदेखि नै पाकिस्तानको गुप्तचर संस्था आईएसआईले भारतको कश्मीरमा आतंक फैलाउन नेपालभित्र घुसपैठ र आर्थिक, धार्मिक नेटवर्कको निर्माण गरेको प्रमाणसहित चर्चा गरे । नेपाल भारत खुला सीमाको दुरुपयोग गर्दै पाकिस्तानी आतंकी सञ्जालले नेपालको धर्मिक सहिष्णुता, सामाजिक सद्भाव र अन्तर्राष्ट्रिय छवि माथि प्रश्न खडा गरिरहेको उनीहरूको ठहर थियो।

"नेपालमा आतंकवादको स्थायी शृङ्खला नबनाओस् भन्ने हाम्रो साझा जिम्मेवारी हो," कार्यक्रमका प्रमुख वक्ता युगनाथ शर्मा पौडेलले भने, "अब हामीले खुला रूपमा विश्व समुदाय सामु आवाज उठाउनु पर्छ कि नेपाल पाकिस्तानी आतंकको भुँइचालो बन्ने छैन।"

उनले आतंककारी अब्दुल करिम टुण्डा, सैफुल्लाह, यासिन भटकलजस्ता कुख्यात आतङ्ककारीले नेपाललाई लुक्ने, योजना बनाउने र पासपोर्ट परिवर्तन गर्ने सुरक्षाविहीन स्थल बनाएको ऐतिहासिक घटनाहरू स्मरण गराए । 

नेपाल प्रहरीले यिनलाई पक्राउ गरे पनि नेपालभित्र यस्तो आतंकी उपस्थिति हुनु नै राष्ट्रिय सुरक्षाको गम्भीर चुनौती भएको पौडेलको तर्क थियो।

कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय जम्मु–कश्मीरको पहलगाममा नेपाली युवक सुदीप न्यौपानेको हत्या पाकिस्तान–प्रेरित आतंकवादको एक नमूना भएको टिप्पणी गरे। "यो एक दुर्घटनामात्र होइन, पाकिस्तानको आतंकवादले नेपालका युवालाई कस्तो प्रकारको खतरा दिन सक्छ भन्ने चेतावनी पनि हो," विनय यादवले भने।

वक्ता एवं अध्यक्ष विनय यादवले भने, "अब हाम्रो कूटनीतिक नीति स्पष्ट हुनुपर्छ – नेपाल कुनै पनि आतंकवादी संगठनको लुकाउने भूमिमा परिणत हुने छैन।" उनले नेपाल–भारत सम्बन्धमा असहजता ल्याउने उद्देश्यले पाकिस्तानले लगातार नेपाल प्रयोग गर्ने रणनीति अपनाएको बताए।

कार्यक्रममा बोल्दै पत्रकार पौडेलले भने, "सार्कको निष्क्रियता र पाकिस्तानकै कारण क्षेत्रीय एकता संकटमा परेको छ। सार्क आज पाकिस्तानले आतंकवादको राजनीति गर्दा कोमामा पुगेको संस्था बनेको छ।"

युगनाथ शर्मा पौडेलले थपे, "पाकिस्तानी आतङ्ककारी प्रवृत्तिविरुद्ध अब नेपाल पनि स्पष्ट पक्षमा उभिनुपर्छ। यसका लागि सञ्चारकर्मी, नागरिक समाज, सरकार र सुरक्षा निकायले एकजुट भएर अन्तर्राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।"

कार्यक्रममा अभियानका उपाध्यक्ष माननीय भुपेन्द्र चौधरी , रिता साह जय नारायण यादब , रबि शाह कालनन्द मिश्र लगायत  पत्रकार, सुरक्षा विश्लेषक, अनुसन्धानकर्ता, पूर्व अधिकारी, राजनीतिक विश्लेषक तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सन्चालन अभियानका केन्द्रीय सदस्य चन्द्र यदुबसी ले गरेको थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ