बेंगलुरुको भाग्य फैसला आज : जिते क्वालिफायर १ मा, हारे एलिमिनेटर
लखनउसँग भिड्दै, पन्जाब शीर्ष २ मा सुरक्षित
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
711
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरणको अन्तिम तथा महत्त्वपूर्ण खेल आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र लखनउ सुपरजायन्ट्स (एलएसजी) बीच हुँदैछ। यो खेल बेंगलुरुका लागि प्लेअफको भाग्य निर्धारण गर्ने निर्णायक मानिएको छ । यदि बेंगलुरुले जित हासिल गरेमा सिधै शीर्ष-२ मा स्थान सुरक्षित गर्दै क्वालिफायर-१ मा प्रवेश गर्नेछन्। यसको विपरीत यदि लखनउले जित हासिल गरेमा बेंगलुरुले एलिमिनेटर खेल्नुपर्नेछ।
यसैबीच, सोमबार सम्पन्न खेलमा पन्जाब किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गर्दै क्वालिफायर-१ मा आफ्नो स्थान पक्का गरिसकेको छ। पन्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्यो। मुम्बईले पहिले ब्याटिङ गर्दै १८४ रन बनाएको थियो, जसलाई पन्जाबले १९औँ ओभरमा मात्र ३ विकेटको क्षतिमा सहजै पूरा गर्यो। यस जितसँगै पन्जाबका १४ खेलबाट ९ जित र १ बेनतिजा खेलसहित १९ अंक भएका छन्, जसले टोलीलाई अंकतालिकाको शीर्ष स्थानमा पुर्याउँदै क्वालिफायर-१ मा स्थान सुरक्षित गरेको छ। अर्कोतर्फ, मुम्बईका १४ खेलबाट ८ जित र ६ हारसहित १६ अंक छन्। टोलीले लिग चरण चौथो स्थानमा समाप्त गरेकाले आगामी जेठ १७ गते एलिमिनेटर खेल्नेछ।
आजको खेलमा बेंगलुरुको भविष्य निर्भर हुनेछ। बेंगलुरु १३ खेलबाट ८ जित र १ बेनतिजा खेलसहित १७ अंकका साथ तेस्रो स्थानमा छ। आजको खेल जितेमा बेंगलुरु शीर्ष-२ मा पुग्नेछ र क्वालिफायर-१ मा आफ्नो स्थान बनाउनेछ। तर टोली पराजित भएमा एलिमिनेटर खेल्नुपर्ने बाध्यता आउनेछ। लखनउ भने प्लेअफको दौडबाट बाहिरिसकेको छ। १३ खेलमा ६ जित र ७ हारसहित उनीहरूको १२ अंक छ। आजको खेल जितेमा लखनउ १४ अंकका साथ छैटौँ स्थानमा पुग्नेछ, अन्यथा सातौँ स्थानमै रहनेछ। यद्यपि, लखनउले बेंगलुरुलाई हराएमा, यसले बेंगलुरुलाई एलिमिनेटर खेल्न बाध्य बनाउनेछ।
आईपीएलमा फाइनलमा पुग्नका लागि प्लेअफ प्रणाली अपनाइन्छ। यस प्रणालीअनुसार, लिग चरणमा शीर्ष-२ मा रहने टोलीहरू क्वालिफायर-१ मा भिड्छन्। यो खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्छ, जबकि हार्ने टोलीलाई फाइनलमा पुग्ने अर्को मौका मिल्छ। तेस्रो र चौथो स्थानमा रहेका टोलीहरूबीच एलिमिनेटर खेल हुन्छ। यो खेल जित्ने टोलीले क्वालिफायर-२ मा क्वालिफायर-१ हार्ने टोलीसँग खेल्छ। क्वालिफायर-२ जित्ने टोली फाइनलमा पुग्छ, जबकि एलिमिनेटर हार्ने टोली प्रतियोगिताबाट बाहिरिन्छ। फाइनलमा पुग्ने धेरै अवसरहरूका कारण नै टोलीहरू शीर्ष-२ मा रहन प्राथमिकता दिन्छन्।