बर्लिन । युरोपेली मुलुक जर्मनीले आफ्नो भिसाको नयाँ नीतिलाई लिएर ठूलो घोषणा गरेको छ । खासमा जर्मनीले १ जुलाई २०२५ देखि ‘रिमोन्स्ट्रेशन’ भनेर चिनिने अनौपचारिक भिसा अपील अन्त्य गर्ने घोषणा गरेको छ ।
वास्तवमा यसको फाइदा यो थियो कि जब कसैले जर्मनीको भिसाको लागि आवेदन दियो र उसको भिसा अस्वीकृत भयो भने पनि उसले थप कागजातहरू देखाएर यो विकल्पमार्फत भिसा प्राप्त गर्न सक्थे । तर यो नयाँ नीति लागू भएपछि अब एक पटक भिसा अस्वीकृत भएसँगै तपाईंसँग अर्को विकल्प हुने छैन ।
हालसम्म भिसा अस्वीकृत भएका व्यक्तिहरूले कानूनी प्रक्रिया बिना अतिरिक्त कागजात वा स्पष्टीकरण पेश गरेर निर्णयलाई चुनौती दिने विकल्प कायम गरिएको थियो ।
संघीय विदेश कार्यालयले घोषणा गरेको यो कदमले हरेक वर्ष जर्मन भिसाका लागि आवेदन दिने हजारौं बिदेशी विद्यार्थी र कामको खोजीमा जर्मनी जाने मानिसहरूलगायत विश्वभरका आवेदकहरूलाई असर गर्ने भएको छ ।
जर्मनीले गरेको यो घोषणा पछि जुलाई देखि कुनै आवेदकको जर्मन भिसा अस्वीकृत भएपछि उसले भिसा पाउनको लागि यो विकल्प बाँकी रहने छैन । बरु दुईवटा मात्रै विकल्प बाँकी रहनेछ । पहिलो नयाँ भिसा आवेदन दायर गर्नु पर्नेछ र दोस्रो बर्लिनको जर्मनीको प्रशासनिक अदालतमा औपचारिक कानूनी अपील गर्न सकिनेछ ।
तर भिसा अस्वीकार गरेपछि कानूनी अपील गर्न भने त्यति सजिलो छैन । कानूनी अपीलहरू समय खपत र महँगो हुने गर्छन् र सामान्यतया जर्मन स्थानीय वकिल नै चाहिन्छ। कतिपय मुद्दाहरू समाधान हुन २ वर्षसम्म लाग्न सक्छ।
जर्मनीको भिसामा यो भर्खरको परिवर्तन जुन २०२३ मा सुरु भएको पायलट प्रोजेक्ट पछि भएको हो । जर्मन विदेश कार्यालयका अनुसार भिसा प्राप्त गर्न यो विकल्प हटाउँदा धेरै फाइदाहरू हुनेछन् ।
वास्तवमा यो नयाँ परिवर्तन पछि कर्मचारीहरू अस्वीकृत आवेदनमा मात्रै अड्किने छैनन् । नयाँ आवेदनमा पनि छिटो काम गर्न सक्ने भएकाले भिसा जारी गर्ने कामले गति लिने जनाइएको छ ।