कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
489
Shares
फाइल तस्बिर
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन्।
मन्त्रालयद्वारा आयोजित ‘सार्वजनिक संस्थानको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले मन्त्रालय मातहत रहेका विभाग र संस्थानले आर्थिक वर्षको सुरुमा गरेको सम्झौता बमोजिम काम सम्पन्न गर्न निर्देशन दिए।
उनले प्रधानमन्त्रीसँग आफूले र आफूसँग सचिवहरूले, सचिवले महाशाखा, विभाग तथा संस्थानसँग गरेको सम्झौताको सत प्रतिशत नतिजा दिन निर्देशन दिए।
मन्त्री भण्डारीले कतिपय निकायले नीतिगत समस्या वा अन्य बाहान देखाउँदै काममा ढिलासुस्ती गर्ने कुरा अब स्वीकार्य नहुने बताए।
उनले भने, ‘हामीले आर्थिक वर्षको सुरुवातमा जे छलफल गर्यौँ, त्यसैको आधारमा गर्न सकिने कामहरूको मात्रै सम्झौता गरेका छौँ, ती मध्ये कतिपय काम सम्पन्न पनि भएका छन्, तर, अझै सन्तोष मान्ने धेरै काम अधुरा छन्, ती समयमै पुरा गरेर देखाउनुपर्छ, त्यसमा फेल हुने छुट कसैलाई पनि छैन।’
मन्त्री भण्डारीले मन्त्रालय मातहत रहेका सबै निकायलाई आजकै मितिबाट कामको गति बढाउन निर्देशन दिए।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सबै निकायसँग कानुन, जनशक्ति र संरचनाको पर्याप्तता भएको अवस्थामा समेत काम सम्पन्न गर्न नसक्नु दुःखद विषय भएको बताए।
उनले भने, ‘हामी कर्मचारीलाई आवश्यक पर्ने सबै चिज हामीसँग हुँदा पनि कहिलेकाहीँ काम गर्न डराउने, रिस्क लिन नसक्ने, समन्वय गर्न नसक्ने लगायतका कमजोरी छन्, समस्याहरू केके हुन्, यसै अन्तरक्रियामा खुलेर राखौँ र समाधान सहित परिणाममुखी काममा लागौँ।’
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छविचन्द्र पराजुलीले निर्देशित काम पुरा गर्ने जिम्मेवारीका साथ कार्यशैली सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा मन्त्रालयका सबै महाशाखा प्रमुख, संस्थानका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो।
अन्तरक्रियामा मन्त्रालय मातहतका निकायले आर्थिक वर्षको सुरुवातमा लिएको लक्ष्य र त्यसको उपलब्धिका विषयमा छलफल भएको थियाे। रासस