वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार सकारात्मक छ : मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
699
Shares
फाइल तस्बिर
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशको पहिलो परिषद् भेला उद्घाटन गर्दै मुख्यमन्त्रीले सामुदायिक वन उपभोक्ता महासङ्घमा आबद्ध सदस्यहरू आन्दोलनका नाममा भावनामा बग्न जरूरी नरहेको बताए ।
मुख्यमन्त्रीले भने, “भावनामा बग्न जरूरी छैन, वार्ताबाट समाधान निस्कन्छ, समस्याको समाधान निकाल्ने प्रयास भइरहेको छ, समस्या तपाईं हामी मिलेर छलफल गरेर समाधान गर्ने हो, सरकार सामुदायिक वन उपभोक्ताहरूको मागका बारेमा गम्भीर छ ।”
व्यक्तिहरूले नियोजित रूपमा सरकार र सामुदायिक वन उपभोक्ता महासङ्घको बीचमा दूरी बढाउने काम गरेको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिबाट सचेत रहनुपर्ने धारणा राखे ।
सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनीका अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, मन्त्रालयका प्रतिनिधि तथा सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । रासस