दश महिनामा पर्सामा सवारी दुर्घटनाबाट चौँतीसको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
488
Shares
पर्सा । पर्सामा चालु आर्थिक वर्षको १० महिनामा सवारीसाधन दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरणका लागि सातामा एक पटक ट्राफिक जनचेतनामूलक कार्यक्रम अघि बढाउँदै आइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले जिल्लामा चालु आवमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरणका लागि सातामा एक पटक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए ।
“हामीले सातामा एकपटक ट्राफिक सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ”, उनले भने, “गत वर्षभरिमा ५१ जनाले सवारीसाधन दुर्घटनामा परेर ज्यान गुमाउनुभयो, यो वर्ष हामीले ट्राफिक सचेतना फैलाएर ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिँदै आइरहेका छौँ ।”
कार्यालयले दुर्घटना न्यूनीकरणका लागि वीरगञ्जको चोक–चोकमा ट्राफिक सचेतनासम्बन्धी अभियानलाई पनि निरन्तरता दिँदै आइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको अगुवाइमा बुधबार साँझ वीरगञ्जको घण्टाघरचोकमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।
वीरगञ्जमा ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सवारीचालकलाई लक्षित गरेर एकघण्टे प्रशिक्षण गरिएको हो । प्रमुख लोकराज भट्टले ट्राफिक नियम पालना गर्न सवारीचालक तथा यात्रुलाई अनुरोध गरेका छन् ।
“सवारी दुर्घटनाका कारणले धेरैले ज्यान गुमाइरहेका छन्,” उनले भने, “ट्राफिक नियम पालना गर्दा ठूला खालका दुर्घटनाबाट पनि जोगिन सकिन्छ । त्यसैले दुर्घटनाबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका उपाय पालना गर्न हाम्रो आग्रह छ ।”
समृद्धि नेपाल फाउन्डेसनका अध्यक्ष सुरज सर्राफले पनि वीरगञ्जमा सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए ।
कार्यक्रम संयोजक दिलीपराज कार्कीले रोगले भन्दा सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या उच्च भएकाले पनि ट्राफिक नियमको पालना गर्नुपर्ने बताए ।