काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ। यस प्रणालीका कारण देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका बाँकी भू-भागका एक-दुई स्थानमा पनि यस्तै वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि छ।
आज राति कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।