काठमाडौँ । अर्थविद् डा विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्त भएका छन् । उनलाई गभर्नर छनोट सिफारिस समितिको सिफारिसका आधारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको हो ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्ककी कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा दिनेश भट्टराई गरी तीन जनाको नाम सिफारिस गरेकामा डा पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको बताए ।
उनी गभर्नर बन्ने लगभग तय भएसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित गभर्नर छनोट सिफारिस समितिको विज्ञ सदस्यबाट राजीनामासमेत दिएका थिए ।
पौडेललाई राष्ट्र बैंक ऐनअनुसार सरकारले गत फागुन २२ गते अर्थमन्त्री पौडेलको अध्यक्षतामा गठन गरेको गभर्नर छनोट सिफारिस समितिको विज्ञ सदस्यका रुपमा चयन गरिएको थियो ।
उनलाई गभर्नर बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएसँगै त्यसको तयारी भएको थियो । तर तयारी भए पनि उनको नियुक्ति भने ढिला गरी भयो ।
अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । उनी काठमाडौँ विश्व विद्याविद्यायलका प्राध्यापक हुन् । उनीसँग अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ ।
उनी अनुभवी अर्थविद् हुन् । उनलाई कांग्रेसी कोटाबाटै २०७८ साउनमा योजना आयोगको उपाध्यक्ष बनाइएको थियो । कांग्रेसले उनलाई कहीँ कतैबाट पनि गुमाउन नचाहने भएकाले ०७९ को प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट टिकटसमेत दिएको थियो ।
उनी पराजित भए । उनी कांग्रेसको उम्मेदवार भए पनि कांग्रेसको कुनै पनि समितिमा बसेर काम भने गरेनन् ।
पार्टीले स्वतन्त्र व्यक्तिलाईसमेत टिकट दिन सक्ने भएकाले पनि गभर्नर बन्न उनलाई कुनै ऐनले नरोक्ने कांग्रेसका नेताहरुले बताउँदै आएका थिए । उनी विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ सदर गरेसँगै उनलाई गभर्नर बन्न कानूनले पनि रोकेन ।
उनको काम मुलुकलाई कसरी आर्थिक चलायमान बनाउन सकिन्छ भन्ने हो । त्यसैले उनले अर्थ मन्त्रालयमा आउने जो सुकै दलका मन्त्रीलाई पनि सघाउँदै आएको बुझिएको छ ।
अहिलेको सरकार कांग्रेस र एमालेको छ । प्रायः अर्थमन्त्री र गभर्नरबीच तालमेल नमिल्दा आर्थिक सूचकांकहरु तलमाथि पर्दै आएका छन् । तर विश्व पौडेल गभर्नर हुँदा एमालेलाई कुनै फरक नपर्ने स्रोत बताउँछ । किनकि मन्त्री पौडेललेसमेत विज्ञ पौडेलबाट सुझाव लिइरहेका हुन्छन् ।
विश्व पौडेलले देशको आर्थिक उन्नतिका लागि जोसुकैलाई पनि सही सुझाव र सल्लाह दिने भएकाले भोलिका दिनमा अन्य दलका अर्थमन्त्री हुँदासमेत सहजीकरणमा सजिलो हुने उनी निकटकाहरु बताउँछन् ।