विश्व पौडेल राष्ट्र बैंकको अठारौँ गभर्नरमा नियुक्त
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
912
Shares
काठमाडौँ । अर्थविद् डा विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरमा नियुक्त भएका छन् । उनलाई मन्त्रिपरिषद्को बैठकले गभर्नरमा नियुक्त गरेको हो । यसअघि आजै बसेको गर्भनर सिफारिस समिति बैठकले उनको नाम सिफारिस गरेको थियो ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्ककी कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा दिनेश भट्टराई गरी तीन जनाको नाम सिफारिस गरेकामा डा पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको बताए ।
त्यही समितिले दिएको नामलाई अनुमोदन गर्दै मन्त्रिपरिषद्ले पौडेललाई गभर्नर नियुक्त गरेको हो । यसअघि उनी सिफारिस समितिकै सदस्य थिए ।
उनी गभर्नर बन्ने पक्का भएसँगै समितिबाट राजीनामा दिएका थिए ।