नारायणगढ-बुटवल सडक निर्माण सुस्त, ६६.५ प्रतिशत मात्रै काम सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
644
Shares
त्रिवेणी (नवलपरासी)। नारायणगढ–बुटवल सडक निर्माणको गति सुस्त देखिएको छ। निर्धारित समयभन्दा धेरै ढिलो भइसक्दा पनि हालसम्म ६६.५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार ११३.५३ किलोमिटटर लम्बाईको सडकमध्ये ९०.८७ किलोमिटर मात्र एकतर्फी कालोपत्र भएको छ।
पुल क्षेत्र बाहेक ११०.४६ किलोमिटर कालोपत्र गर्नुपर्नेमा ९३.९४ किलोमिटर खण्डमा सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छ। यो कुल लम्बाईको ८३ प्रतिशत हो। हाल कामको चाप दाउन्ने क्षेत्रमा बढी छ। जहाँ कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेको र सडक ढलानको काम जारी रहेको खनालले जानकारी दिए। दाउन्ने खण्डको यात्रालाई छिटो सहज बनाउने लक्ष्य राखिएको छ।
२०७५ माघमा चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनसँग २०७९ साउन २२ गतेसम्ममा काम सम्पन्न गर्ने सम्झौता भएको थियो। तर काम समयमा नसकिएपछि तेस्रो पटक म्याद थप गरी २०८२ साउन ८ गते पुर्याइएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागत रहेको यो सडक विस्तार योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयदेखि सास्ती खेपिरहेका छन्। अहिले केही खण्डमा सहज भए पनि दाउन्नेमा वर्षाका कारण जामको समस्या कायमै छ। कुल ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटर चार लेन सहित दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन र दाउन्नेमा १४ किलोमिटर तीन लेनको हुनेछ।